
• शिशिर भण्डारी

भूमिका :
समाजको स्तर केवल उसले कति प्रविधि अपनायो वा कति आर्थिक प्रगति गर्यो भन्नेले मात्र मापन हुँदैन । उसले कस्तो भाषा बोल्छ, कस्तो व्यवहार देखाउँछ, र कस्तो संस्कार बोक्छ भन्नेले नै उसको वास्तविक उचाइ निर्धारण गर्छ ।
आजको नेपाली समाज बाहिरबाट हेर्दा – डिजिटल पहुँच, अभिव्यक्ति स्वतन्त्रता र अवसरका हिसाबले तीव्र रूपमा अगाडि बढिरहेको देखिन्छ।
तर हाम्रो यही समाजको भित्री तहमा प्रवेश गर्दा एउटा असहज यथार्थ प्रकट हुन्छ – न हेर्न सहज, न सुन्न सहज, न त बोल्न नै सहज । सामाजिक सञ्जाल खोल्दा गाली, अपमान, चरित्र हत्या र अश्लील शब्दहरूको बाढी देखिन्छ । युवाहरूको बीचमा बस्दा उनीहरूको भाषाशैलीले झन् ठूलो प्रश्न उठाउँछ – के हामीले भाषा मात्र होइन, संस्कार पनि गुमाउँदै गएका हौ ? के यो स्वतन्त्रताको विस्तार हो, कि मर्यादाको क्षय ??
सामाजिक सञ्जाल: अभिव्यक्ति कि उत्तेजनाको बजार ?
सामाजिक सञ्जालले आज हरेक व्यक्तिलाई अभिव्यक्तिको अधिकार र पहुँच दिएको छ ।
यो लोकतान्त्रिक अवसर हो – जहाँ आवाज दबिँदैन, विचार बहन्छ । तर यही अवसरभित्र एउटा खतरनाक प्रवृत्ति पनि विकसित भएको छ – “attention economy”, जहाँ मूल्य सामग्रीको गुणस्तरले होइन, त्यसले कति ध्यान तान्छ भन्नेले निर्धारण गर्छ । मानव मनोविज्ञानमा रहेको “negativity bias” का कारण मानिस नकारात्मक, विवादास्पद र उत्तेजक सामग्रीतर्फ छिटो आकर्षित हुन्छ । फलस्वरूप—गाली, अपमान र अश्लीलता तीव्र रूपमा फैलिन्छ।
आजको डिजिटल यथार्थ स्पष्ट छ – सभ्यता होइन, उत्तेजना बिक्छ; तर्क होइन, आक्रमण चल्छ; “जति गाली, त्यति भ्यू – जति भ्यू, त्यति मूल्य” भन्ने विकृत मान्यता स्थापित हुँदैछ ।
शब्दको रूपान्तरण – भाषा होइन, मानसिकताको परिवर्तन :
एक समय थियो – शब्दहरूमा मिठास हुन्थ्यो, असहमतिको अभिव्यक्तिमा पनि मर्यादा कायम हुन्थ्यो । तर अहिले भाषाको स्वरूप नै फेरिएको छ । “साले”, “भाते”, “ट्यापे”, “र्यापे” जस्ता अन्य अश्लील शब्दहरू अब गाली मात्र रहेनन् –
मनोरञ्जन, हास्य र ‘content’ का माध्यम बनेका छन्।
गाली गर्नु ‘bold’ हुनु जस्तो देखिन्छ, अपमान गर्नु ‘humor’ को रूपमा व्याख्या हुन्छ, अश्लीलता ‘trend’ को रूपमा स्वीकृत हुँदैछ । यस प्रक्रियाले एउटा गम्भीर प्रश्न खडा गर्छ – जब अपमान सामान्य बन्छ, सम्मानको स्थान कहाँ रहन्छ ?
भाषा बिग्रनुको कारण: दबिएको आक्रोशको अभिव्यक्ति :
यो समस्या केवल भाषिक होइन; यो गहिरो रूपमा सामाजिक र मनोवैज्ञानिक छ । मनोविज्ञानको Frustration-Aggression Theory अनुसार – जब व्यक्तिभित्रको निराशा, असन्तुष्टि र दबाब बाहिरिने अवसर पाउँदैन, त्यो आक्रामक व्यवहारका रूपमा प्रकट हुन्छ भनिदो रहेछ । यस अर्थबाट – बेरोजगारी, असफलताको डर, सामाजिक तुलना र अस्थिर भविष्यले युवामा तनाव बढाएको छ ।
सामाजिक सञ्जालले त्यो आक्रोश पोख्ने सजिलो माध्यम दिएको छ – जहाँ न त उत्तरदायित्व हुन्छ, न तत्काल परिणाम नै ।
यसरी हेर्दा, गाली केवल शब्द होइन – यो दबिएको पीडा र असहिष्णुताको भाषिक अभिव्यक्ति बनेको छ ।
जब अश्लीलता ‘content’ बन्छ, संस्कारको व्यापारिकरण हुन्छ :
अहिलेको डिजिटल युगमा सामग्री (content) केवल अभिव्यक्ति होइन, आम्दानीको स्रोत पनि बनेको छ । यहीँबाट एउटा खतरनाक मोड सुरु हुन्छ कि – अपमान मनोरञ्जन बन्छ, अश्लीलता आकर्षण बन्छ र विवाद व्यापार बन्छ । जब कसैले गाली गरेर लोकप्रियता र आम्दानी पाउँछ, त्यो व्यवहार व्यक्तिगत रोजाइ मात्र रहँदैन – त्यो संरचनागत प्रोत्साहन (systemic incentive) बन्छ । यसले भाषालाई मात्र होइन, सम्पूर्ण सामाजिक मूल्यलाई व्यापारिक वस्तुमा रूपान्तरण गरिदिन्छ ।
सिकाइको स्रोत: समस्या युवामा होइन, वातावरणमा :
समाजले अक्सर युवा पुस्तालाई दोष दिन्छ ।
तर प्रश्न उठ्छ – उनीहरूले सिकिरहेका छन् चाहिँ कहाँबाट ? हाम्रो समाजको सार्वजनिक बहसमा मर्यादा हराउँदै गएको छ, राजनीतिमा आरोप–प्रत्यारोप र गाली सामान्य बनेको छ, अनि मिडियामा गहिराइ भन्दा सनसनीले स्थान लिएको छ भने यसले पक्कै युवालाई एउटा स्पष्ट सन्देश दिन्छ कि – सभ्यताले होइन, आक्रामकताले ध्यान (attention) पाउँछ । त्यसैले समस्या पुस्तामा होइन – पुस्तालाई घेरिरहेको हाम्रो वरिपरिको वातावरणमा छ ।
मनोवैज्ञानिक प्रभाव: अदृश्य तर गहिरो संकट :
चाहे डिजिटल संसार होस या ननडिजिटल संसार लगातार नकारात्मक र आक्रामक सामग्रीसंगको सम्पर्कले मानिसको संवेदनशीलता क्रमशः घटाउँछ – यसलाई Desensitization भनिन्छ । त्यसैगरी – निरन्तर तुलना र नकारात्मकता देख्दा चिन्ता (anxiety), तनाव (stress) र पहिचान संकट (identity crisis) बढ्छ ।
अर्कोतर्फ, साइबर बुलिङ (Cyberbullying) ले व्यक्तिको आत्मसम्मान र मानसिक स्वास्थ्यमा गम्भीर असर पार्छ । यसरी, भाषा बिग्रिनु केवल सामाजिक समस्या होइन – यो मानसिक स्वास्थ्यसँग जोडिएको गहिरो संकट पनि हो ।
समाजमा पर्ने असर: विश्वासदेखि सहिष्णुतासम्म :
भाषाको स्तर घट्दा मानिसहरू बीचको विश्वास पनि कमजोर हुन्छ । परिणामत: असहमति बहसमा होइन, झगडामा परिणत हुन्छ ।बच्चाहरूले यही भाषा सिक्न थाल्छन् – र उनीहरूको लागि आक्रामकता नै “सामान्य” बन्छ । यसको दीर्घकालीन असर स्पष्ट छ – सहिष्णुता घट्छ, सहकार्य कमजोर हुन्छ र सामाजिक एकता विखण्डित हुन्छ ।
समाधान – कानुनभन्दा माथि चेतना :
कानुन मार्फत नियमन र नियन्त्रण त आवश्यक छ – तर यो नै पर्याप्त होइन । किनभने कानुनले व्यवहार नियन्त्रण गर्न सक्छ, तर संस्कार निर्माण गर्न सक्दैन । संस्कार डरबाट होइन, चेतनाबाट जन्मिन्छ । त्यसैले समाधान बहुआयामिक हुनुपर्छ – व्यक्तिगत जिम्मेवारी, पारिवारिक संस्कार,
शैक्षिक सुधार र सामाजिक उदाहरण – सबै आवश्यक छन् ।
निष्कर्ष :
परिवर्तनको आरम्भ हामीबाटै गर्नु पर्छ । समाज एकैचोटि बिग्रिँदैन – यो बिस्तारै, साना व्यवहार र शब्दहरूको माध्यमबाट परिवर्तन हुन्छ । आज हामीले गालीलाई मनोरञ्जनका रूपमा स्वीकार गर्यौँ भने, भोलि त्यो नै संस्कार बन्छ । आज हामीले अपमानलाई सामान्य ठान्यौँ भने, भोलि सम्मानको आधार नै हराउँछ । तर आशा अझै बाँकी छ । परिवर्तन कुनै ठूलो आन्दोलनबाट मात्र सुरु हुँदैन – यो एउटा शब्दबाट सुरु हुन्छ, एउटा व्यवहारबाट सुरु हुन्छ । जब एउटा व्यक्ति बदलिन्छ, त्याहा परिवार बदलिन्छ; जब परिवार बदलिँदा हाम्रो सिङ्गो समाज नै बदलिन्छ ।
अन्ततः प्रश्न राज्य वा प्रविधिको मात्र होइन – हाम्रो चेतना, हाम्रो रोजाइ र हाम्रो जिम्मेवारीको हो । “स्वतन्त्रता लोकतन्त्रको आधार हो, तर मर्यादाबिना प्रयोग भएको स्वतन्त्रता अन्ततः अराजकताको रूप लिन्छ।”
२०८३ वैशाख १ गते ।