
• साेनाम सज्जन किराँती -खाेटाङ हलेसी

हात नहाल
(एक चिच्याहट,
माइक्रोफोन बिना पनि सुनिने)
हात
न हा ल ।
सुन्यौ?
कि तिमीहरू
ध्वनि होइन,
मासु मात्रै बुझ्छौ?
“हात नहाल”
मैले भनेको
वाक्य होइन,
मेरो छालाको संविधान हो ।
तर
तिमीहरू
औँलालाई मतपत्र ठान्छौ
र शरीरलाई चुनावी क्षेत्र ।
म
माइतीघरको ढुङ्गामा टाँसिएको
एक जीवित पोस्टर हुँ,
रक्त नबगेको
तर न्याय चुहिरहेको ।
अनशन
भोक होइन,
यो एक नाटक हो
जहाँ पेटले होइन,
राज्यले अभिनय गर्छ भोकाएको ।
ए
त्यो “बाेका”
(हो, नाम नलिई पनि चिनिने प्राणी)
उसलाई समातेर
कानुनको ढोकामा ठोक्न सक्ने
कोही छ यहाँ?
कि
तिमीहरू सबै
दर्शक हौ?
भीड
भीड भनेको मानिस होइन,
यो एउटा जनावर हो
जसको धेरै टाउका हुन्छ
तर एउटा पनि आँखामा लाज हुँदैन।
त्यो भीड
मेरो ब्यानर च्यात्छ
जस्तो
सत्यको छाला उधारिन्छ।
“किन झण्डा?”
(प्रश्न होइन, थुक हो)
र म
म सोचिरहेकी छु,
के झण्डा भारी भयो
कि न्याय हलुका?
क्यामेरा
ए क्यामेरा!
तँ आँखो होइनस्,
तँ भोक होस्
क्लिक!
अर्को क्लिक!
मेरो पीडा
तँ ट्रेन्ड बनाउँछस्,
मेरो आँसु
तँ ह्यासट्याग बनाउँछस्।
#हातनहाल
#न्याय_कहाँछ
(लाइक, सेयर, स्क्रोल…)
तर
मेरो स्वर
एल्गोरिदमले खान सक्दैन।
“हात नहाल।”
यो चेतावनी होइन,
यो उल्टो गनगन हो
जहाँ गोली शब्द हुन्छ
र निशाना
तिमीहरूको मौनता।
जब
मेरो हात समातिन्छ
म शब्द गुमाउँछु,
तर
मेरो नसा
चिच्याउन थाल्छ।
सडक
यो सडक अदालत हो,
म न्यायाधीश पनि
अभियुक्त पनि।
ढकढक
ढकढक
न्यायको ढोका
कहिल्यै खुल्दैन,
तर म
कहिल्यै थाक्दिन।
फेरि
हात नहाल।
हात
न हा ल!!!
किनकि
माइती नभएको माइतीघरकी चेली
अब पीडित होइन
ऊ
भूकम्प हो ।
र जब ऊ हल्लिन्छ
तिमीहरूको व्यवस्था
दरार पर्छ,
तिमीहरूको मौनता
धुलो बन्छ,
र
तिमीहरूले छोएका हातहरू
आफैं काटिन थाल्छन् ।