
काठमाडौं । पूर्वमन्त्री जितेन्द्रनारायण देवले नेकपा (एमाले) परित्याग गरेका छन्। सोमबार सप्तरीमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले पार्टी छाड्ने औपचारिक घोषणा गरेका हुन्।


कांग्रेसबाट एमाले प्रवेश गरेका देवले देशमा व्याप्त कुशासन, भ्रष्टाचार, लुटतन्त्र, बेरोजगारी र युवाहरूको बढ्दो विदेश पलायनका विरुद्ध भदौ २३ गते भएको ‘जेन–जी विद्रोह’ जनआक्रोशको विस्फोट भएको बताए। तर त्यसलाई सही रूपमा नबुझी ‘विदेशी षड्यन्त्र’ भन्दै पार्टीलाई व्यक्तिवाद, देवत्वकरण र स्वेच्छाचारी ढंगले सञ्चालन गरिएको भन्दै उनले असहमति जनाएका छन्।
देवले पार्टी र नेतृत्व सच्चिने दिशामा नलागी विभेदकारी विचार, नीति र व्यवहार अघि बढाइएको आरोप लगाउँदै आजकै मितिदेखि एमाले परित्याग गरेको घोषणा गरेका हुन्।
यसअघि कांग्रेसबाट राष्ट्रियसभा सदस्य बनेका देव गत वर्ष असारमा एमाले प्रवेश गरेका थिए।
तराई क्षेत्रका पुराना एमाले नेता देब यसअघि पनि पटक–पटक एमाले परित्याग गरी विभिन्न दलमा आवद्ध हुँदै पुनः एमाले फर्किएका थिए।