
खानीखाेला/ काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिकामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर-१ का उम्मेदवार दिननाथ गौतमले चुनावी अभियानलाई तीव्र बनाएका छन्।


माघ १९ गते खानीखोला गाउँपालिका-तालढुङ्गामा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा विस्तारित बैठकसँगै घरदैलो अभियान चलाएकाे छ। यसैक्रममा निर्वाचन परिचालन समितिको बैठक समेत सम्पन्न भएकाे छ।
कार्यक्रममा उम्मेदवार गौतमले आफू विगतदेखि नै जनताको आवाज उठाउँदै आएको उल्लेख गर्दै आगामी निर्वाचनमा विजयी भए क्षेत्र नम्बर-१ भित्रका जनताको आवश्यकता र मागलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले अन्य पार्टीभन्दा नेकपा फरक ढंगले चुनावमा सहभागी हुने, जनताको साथमा उभिने र बोलेका कुरा व्यवहारमा उतार्ने पार्टी भएको दाबी गरे।

गौतमले खानीखोला गाउँपालिका तथा क्षेत्र नम्बर-१ का सम्पूर्ण मतदातालाई नेकपाको चुनाव चिन्ह तारा मा मतदान गरी जिताइदिन आग्रहसमेत गरे।
चुनावी अभियानका क्रममा खानीखोला गाउँपालिका-७ स्थित मिल्चेको महांकाल तथा वडा नम्बर-६ को माझिटार हुँदै तालढुङ्गासम्म उम्मेदवार टोलीलाई स्थानीयवासी र कार्यकर्ताले भव्य स्वागत गरेका थिए।

बैठकमा आगामी निर्वाचन रणनीति, संगठन सुदृढीकरण र जनसम्पर्क अभियानबारे व्यापक छलफल गरिएको थियो। कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य अकल बहादुर थिङ (महेश), निर्वाचन परिचालन समितिका सहसंयोजक मुकुन्द गौतम, बागमती प्रदेश सचिव इन्द्र बहादुर थिङ (छिन्ताङ), समानुपातिक उम्मेदवार मिना पाख्रीन, युवा नेता दैबलाल घिसिङ (अनुसिल) र पालिका कमिटी अध्यक्ष अविरल जिम्बा लगायतको उपस्थिति रहेको थियो।
बैठकबाट तालढुङ्गामा ४५१ सदस्यीय निर्वाचन परिचालन समिति घोषणा गर्दै कार्यक्रम सम्पन्न गरिएको आयोजकले जनाएको छ।
