
काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगर समितिको आयोजनामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का वडा नं. ४ देखि १० सम्मका अगुवा कार्यकर्ता भेला तथा बैठक सम्पन्न भएको छ। बैठक काभ्रे प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार दिननाथ गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार गौतमले नेपाली कम्युनिष्ट पार्टी अन्य दलसँग तुलना गर्न नमिल्ने, जनताको आवाज प्रत्यक्ष सुन्ने र जनताको पक्षमा काम गर्ने सच्चा जनताको पार्टी भएको दाबी गर्नुभयो। आफू निर्वाचित भएपश्चात् पनौती नगरका हरेक काम जनतासँगै बसेर, जनताको समस्या आफ्नै समस्या ठानी समाधान गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।
गौतमले करिब पाँच दशक लामो राजनीतिक यात्रामा हरेक वर्ग, समुदाय र भुइँमान्छेका मागलाई सम्बोधन गर्दै आएको उल्लेख गर्नुभयो। हालसम्म प्राप्त उपलब्धि गुम्ने खतरा रहेको भन्दै गणतन्त्र, संघीयता र समावेशीताको रक्षाका लागि नेकपाको जित आवश्यक रहेको उहाँको भनाइ थियो।
यसपटक जनताले विश्वास गरेर जिताएमा जनताको सुख–दुःखको साथी बनेर जनताका आवाज सम्बन्धित निकायसम्म पुर्याई समाधानका लागि निरन्तर लागिपर्ने उहाँले बताउनुभयो। सबै जाति, वर्ग र समुदायको समान सम्मान र हकअधिकार सुनिश्चित गर्न पार्टी निरन्तर संघर्षरत रहेको पनि उहाँले स्पष्ट पार्नु भयाे।