

२०८२ फाल्गुण २१ गते हुन गैरहेको यो संसदीय आमनिर्वाचन केवल मतदान होइन, यो बिशेष परिस्थितिमा हुन गैरहेको निर्वाचन र राष्ट्रको दिशानिर्देश तय गर्ने निर्णायक क्षण हो । प्रतिगमनतर्फ धकेलिने संकेत, लोकतान्त्रिक प्रक्रियामाथि आक्रमण गर्ने अतिवाद र निर्दोषमाथि हुने हिंसाविरुद्ध मतदाताको सजगता आज झन् अपरिहार्य बनेको छ । राष्ट्रियता, सुशासन र दिगो परिवर्तनको बहसबीच राजनीतिक शक्तिहरू आफ्ना एजेन्डासहित मैदानमा उत्रिएका छन् ।

“जसको नीति, उसको नेतृत्व” भन्ने नारासहित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले वैकल्पिक मार्गको दाबी गरेको छ । उता नेपाली कांग्रेस र नेकपा एमाले माथि विगत तीन दशकको शासनशैलीबारे प्रश्नहरू यथावत् छन् । नयाँ शक्तिको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी समेत सरकारमा सहभागी भइसकेको सन्दर्भले “नयाँ र पुरानो” को बहसलाई थप गहिरो बनाएको छ ।
नयाँ के हो ? पुरानो के हो ? यो उमेरको होइन,विचार, सिद्धान्त र दृष्टिकोणको प्रश्न हो । सामाजिक सञ्जालका आकर्षक नारा र तात्कालिक लोकप्रियताभन्दा माथि उठेर मतदाताले नीति, कार्यशैली, पारदर्शिता र जवाफदेहिताको कसीमा नेतृत्व जाँच्नुपर्छ । सुशासनको माग केवल भाषणमा होइन, व्यवहारमा प्रमाणित हुनुपर्छ ।
नेपालको संविधान २०७२ जारी हुनुअघि नेपाली कांग्रेस र नेकपा एमालेले स्पष्ट असहमति जनाएका पाँच ऐतिहासिक बुँदाहरू आज पनि जनताको साँचो आकांक्षा हुन् । यिनलाई संविधानमा समावेश नगरेसम्म परिवर्तनको सपना अधुरै रहन्छ । जो यस प्रकारका छन् :-
१. पूर्ण समानुपातिक निर्वाचन प्रणाली
२. प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली
३. विज्ञ समूहको सानो मन्त्रीमण्डल
४. सांसदबाट मन्त्री बन्न नपाइने व्यवस्था
५. पहिचानसहितको संघीयता
यी प्रावधान समेटेर संविधान संशोधन गर्नु नै स्थिर सरकार, तीव्र विकास र समृद्धिको आधार हो । कांग्रेस र एमालेको पुरातन सोच र ३५ वर्षको कुशासनले देशलाई अन्धकारमा राखेको सत्य हो । अब झुकाव बदल्ने समय आएको छ ।
अन्ततः लोकतन्त्र भावनाले होइन, तथ्य र कार्यसम्पादनले बलियो बन्छ । त्यसैले राष्ट्रियता, सुशासन तथा आमूल परिवर्तनको लागि बेलैमा उम्मेदवार चिनौं, सोच बदलौं, र विवेकपूर्ण मतमार्फत अग्रगामी दल नेकपाको उम्मेदवारहरुलाई तारा चिन्हमा आफ्नो अमूल्य भोट दिई देशको सुन्दर भविष्य सुनिश्चित गरौं ।