
• राजु स्याङ्तान

रामबहादुर मार्ग
जब टेक्छु
यो लमतन्न राजमार्ग
टेकेँ जस्तो लाग्छ–आपाको आङ
४० बसन्त अघि लक्का जवान हुँदा
गिट्टीमा सपनाको अलकत्रा घोलेर
बनाएका थिए रे आपाले यो मार्ग
उ त्यो जङ्गलको बिचमा
थोत्रो डोजरको पाटपुर्जासँगै
लडिरहेको पहेँलो टोपी
सायद मेरै आपाको हुनुपर्छ
त्यो पुरानो ट्याक्टरको टायरनेर
आधा डढेको हात्तिछाप चप्पल पनि
मेरै आपाको हुनु पर्छ
ऊ त्यही फ्याँकिएको क्रसरले
चुँडि लग्यो होला
मलाई ताते ताते गराउने
आपाको दाईने हात
हुँईकिन थालेपछि पुलमाथि मोटर
कति हिँडे होलान्
जवान आमासँगै पुलमुनीको बाटो
२ रूपैयाँ भाडा नभएर
हिजो साँझ
पिएपछि एक डबका जोस्
आपा निस्किएछन् राजमार्गमा
कराएछन् जोड जोडले
‘साला को हो महेन्द्र भनेको ?
यो महेन्द्र राजमार्ग होइन
पुर्व पश्चिम राजमार्ग पनि होइन
मैले बनाएको हुँ मैले’
बिहान टोल छिमेकी ब्युझँदा
राजमार्ग छेउमा लडिरहेको थियो
आपाको लास
किचिमिची पारेको थियो
वर्षौ भोट हालेको
बुढी औँला पनि
न कुनै मुचुल्का
न कुनै साक्षी
न कुनै थुनछेक
बेवारिस लडिररहेको छ आज
आँगनमा आपाको लास
म गइरहेछु
मेरो आपालाई भेट्न
यो अमलेखगञ्ज
यो निजगढ
यो चन्द्रनिगाहपुर
यो महेन्द्र राजमार्ग
पूर्व पश्चिम राजमार्ग
तर
तर किन भन्न पाउदिनँ
रामबहादुर मार्ग ?
(कवि राजु स्याङ्तान तामाङकाे “ओ पेङ्दोर्जे ! बाट)