
• खाेजराज गाेले

बिना त कस्तुरीसँग मात्रै हुन्छ । मेरो खोरमा पालिएको बोकाबाट बिना प्राप्त गर्छु भनेर अड्डी कसेर हुँदैन । त्यस्तैगरी ताम्सालिङ भनेको तामाङसँग मात्रै हुने विषय हो । यो कुनै नयाँ वा पुराना भनिएका राजनीतिक दलसँग हुने कुरा होइन । कसैले मेरो पार्टीले ताम्सालिङ दिन्छ भनेर भ्रम फैलाउँछ भने त्यो सामाजिक अपराध हो । ताम्सालिङ ल्याउँछु भन्ने नेताले पार्टीका दर्शन र नीतिहरू समाजमा लाद्न आउने होइन । पार्टीका नेतालाई हाम्रो माग यो छ भनेर जबरजस्त बहस गर्न सक्नुपर्दछ । बहसले मात्रै केही हुनेवाला छैन । त्यसैले कम्तिमा पनि जबरजस्त रूपमा ताम्सालिङको अभ्यासलाई अनुमोदन गर्न बाध्य पार्न सक्नुपर्दछ । हैन भने, नेता हुँ भन्न छोड्नुपर्दछ ।
तामाङ हुनलाई त ह्रुइ (ह्रइठिम) चाहिन्छ । ह्रुइलाई स्थापित गर्न ह्रुइगी फो’ल चाहिन्छ । ह्रुइगी फो’ललाई पुज्न लबोन चाहिन्छ । यदि लबोनलाई ढुङ्गेयुगको संवाहक मान्ने हो भने फो’ल छोड्न सक्नुपर्दछ । फो’लमा विश्वास छैन र यसलाई कुरीति वा अन्धविश्वास मात्रै भन्ने हो भने ह्रुइलाई फाल्न सक्नुपर्दछ । ह्रुइलाई फाल्ने हो भने तामाङ भनिरहनुको औचित्य रहँदैन । तामाङको पहिचान छोड्ने हो भने ताम्सालिङ भन्ने नैतिक हैसियत प्राप्त हुँदैन । ताम्सालिङ माग्ने नैतिक हैसियत गुमाउनेहरूलाई महान् तामाङ राष्ट्रका सदस्यहरूका भविष्यमाथि खेलबाड गर्ने अधिकार छैन ।
फो’ल भनेको तामाङ पहिचानको एउटा आधारस्तम्भ हो । यसको पुजनद्वारा मुक्ति र निर्वाण प्राप्त हुन्छ भनेको पनि छैन । यसले त तामाङको पहिचानलाई निरन्तरता दिने हो । अन्यभन्दा अलग्गै राष्ट्र हौँ भन्ने दाबीलाई पुष्टि गर्ने हो । तामाङ ह्रुइठिम, ग्योइठिम, छ्योइठिम, रिमठिम तथा ठिगरलाई अभ्यास गर्ने हो । ताम्सालिङ पनि अभ्यास गर्ने विषय हो । कुनै राजनीतिक पार्टीलाई मागेर प्राप्त हुने जिनिस होइन ।
मार्क्सवाद(साम्यवाद), उदारवाद, राजतन्त्र लगायत कुनै पनि राजनीतिक दर्शनसँग ताम्सालिङको ‘त’ पनि छैन । त्यसैले ठूला दल र सत्ताले ताम्सालिङ देला र प्राप्त होला भनेर बस्नु भनेको अल्पज्ञानको पराकाष्ट हो । नालायकीपनको उदाहरण हो । नपुङ्सकताको सङ्केत हो । भुलभुलैयाको भूमरीमा भासिएको प्रमाण हो ।
साँच्चै ताम्सालिङ अभ्यास गर्ने नै हो भने व्यक्तित्व निर्माण आवश्यक छ । व्यक्तित्वको लागि शेरब र हिसे (प्रज्ञा र ज्ञान) चाहिन्छ । तामाङ खगोलसहितको लोकहरू चाहिन्छन् । लोकसँगै परलोक वा लोकोत्तर चाहिन्छन् । खोर्वैलिङदेखि थर्पेलिङसम्मको स्पष्ट खाका चाहिन्छ । तामाङ तत्त्वमीमांसा, ज्ञानमीमांसा, मूल्यमीमांसा र सौन्दर्यशास्त्र लगायत चाहिन्छन् । तामाङभाषा, रिमठिम, ठिगर चाहिन्छ । ठिमपे र पेऽठिम चाहिन्छ । म्हेमे मम्का ज्योइ, ब्रोइ र डोइ चाहिन्छ ।
यी विषयहरू राजनीतिक दलका दर्शनमा हुने कुरा होइन । यदि राजनीतिक दलमा छ भनेर खोज्छ भने त्यो त बिना खोज्न बोका ढाल्ने भनेजस्तो हो । यही अज्ञानताको कारण तामाङ सभ्यता कम्तिमा पनि २० वर्षपछि परिसकेको छ । अझै पनि अल्झो गरेर बस्ने हो भने भावीपुस्ताले नेताहरूका कङलिङ निकालेर फुक्नेछन् ।
फो’ललाई अवैज्ञानिक र ताम्सालिङको लागि गन्तव्य नमान्नु पनि एउटा कमजोरी हो । लबोनले कहिल्यै फो’ललाई वैज्ञानिक छ भनेको पनि छैन । यो पहिचानको आधार चाहिँ अवश्य हो । फो’लमा पनि विज्ञान हुन सक्छ । यसको लागि अन्वेषकले आफूमा रहेको विज्ञानप्रतिको अन्धविश्वासलाई चिन्न र फाल्न सक्नुपर्दछ ।
बिर्सनै नहुने तथ्य चाहिँ, यो विज्ञानको युगमाथि विज्ञानकै विश्वास टुटेको दिक्, काल र परिस्थिति हो । यो त फिजिक्सपछिको क्वान्टम् फिजिक्सको जमाना हो । आधुनिकतालाई लत्याउँदै अघि बढेको र उत्तरआधुनिकताको मलामी गएपछि उदायको अधिआधुनिकताको समय हो । यो त जेन जेडको मौसम हो । जेन जेड भनेको राज्यसत्ता र राजनीतिक पार्टीका मलामी हुन् । नेपालमा भएको जेन जेडको आन्दोलन भोगिसकेका छौँ । यस्तो बेलामा, यति पनि नबुझ्ने हो भने अब आउने पुस्ताका सामू डायनोसोसर बन्नुपर्ने हुन्छ ।
तामाङको महिना र तिथिअनुसारका चाडपर्वलाई चिन्नुको विकल्प छैन । ती चाडपर्वमा रिन लाग्छ भन्ने भाष्यले ताम्सालिङको आधार बनाउँदैन । त्यसले भएका आधारहरू पनि भत्काउँनेछ । एउटा मात्रै ढुङ्गोले हिमाल चुलिँदैन । एउटा मात्रै पर्वले सभ्यता बन्दैन । म्हेनिङमाथि हिन्दूसत्ताले दशैँ ल्याएर खप्ट्याएको इतिहास देख्न नसक्नुभनेको आँखामा फुलो परेको स्पष्ट सङ्केत हो । आफ्नो म्हेनिङलाई महिना र पर्व दुवै हो भन्नेमा विश्वास नभएको र दशैँ मानेको जस्तो हुन्छ भन्नु चाहिँ लुते गोरूको भाग्ने दाउ मात्रै हो । त्यस्ता ह्याउ नभएका र परेको बेलामा भाग्ने नेतृत्वकै कारण ताम्सालिङ स्थापित नभएको हो ।
म्हेनिङ मान्दाखेरि दशैँलाई फाइदा होला कि भन्ने भ्रममा परेर रुनेहरूले दशैँ बहिष्कारको आन्दोलन चलाएका हुन् । दशैँ बहिष्कार गर्नेहरूले ताम्सालिङ प्राप्त गरेछन् भने हिन्दूसँग अहिले बढेको दुरीलाई कसरी सन्तुलनमा ल्याउलान् ? यो गम्भीर प्रश्न हो । दशैँ बहिष्कार आन्दोलन चलाएका व्यक्तिको तर्कहरू पनि देखिएका छन् । जुन तर्क दिसापिसाब लाग्ला र अष्ठेरो पर्ला कि भनेर गाडीमा चढेको बेला भोकै बसेजस्तो देखिन्छ । यसको अर्थ तामाङले पनि दशैँ मनाउनुपर्छ भनेको होइन । दशैँ लाद्ने राज्यसत्ताप्रतिको निरन्तर प्रतिकार हो भनेर बुझ्न सक्नुपर्दछ ।
प्रतिकार भनेको तत्काल; तत्स्थलमा हुने कुरा हो । भोलिपर्सि प्रतिकार गरम्ला भन्ने हो भने आज मर्न सक्नुपर्दछ । त्यसपछि प्रतिकार गर्ने त्यो भोलि कहिल्यै आउनेछैन । तामाङले म्हेनिङ, नेवाःले मोहनी नखः र मगरले डास्यास्के मनाउँदा हिन्दूको दशैँ मानेजस्तो हुन्छ भन्ने हो भने; हिन्दूराज्यसत्ताले थमाएको नागरिकता लिएपछि तामाङ कसरी तामाङ ररिरहेको छ त ? तामाङको ह्रुइलाई बिर्सेर थर(हिन्दू अवधारणा)लाई स्वीकार्दै नागरिकता लिने अनि ताम्सालिङ ल्याइदिन्छु भनेर नेताले भन्छ भने त्यो त कुलङ्घार र वंशगद्दार बाहेक अरू के हुन सक्छ र ?
हाम्रा महान् पुर्खाले सीप र ज्ञान दिवसलाई छ छ महिनाका अन्तरालमा स्थापित गराउनुभएको देखिन्छ । ह्युल्जे गरेको छ महिनापछि म्हेनिङ स्थापित गरेको देखिन्छ । म्हेनिङमा गरिने पूजालाई हिन्दूको भन्नु भनेको रतन्धो लागेको भन्दा अरू के हुन सक्ला र ?
ताम्सालिङ अभ्यास गर्नुभनेको शासक बन्नु पनि हो । शासक हुन ठूलो मुटु चाहिन्छ । सबैलाई समेट्न सक्नुपर्दछ । अरूलाई चिड्याएर, थकाएर अन्ततः भगाउँछु वा दबाउँछु भन्छ भने त्यो विश्वास बिनासे काले विपरीत बुद्धि मात्रै हो । ताम्सालिङको असली नेताले त– मार्क्सवाद, उदारवाद, राजतन्त्र र घण्टी बजाउनेका दर्शनमा भएका कमजोरीलाई पनि सम्यक् किसिमले सम्बोधन गर्न सक्नुपर्छ । ताम्सालिङसँग मगरात, थरुहट, याक्थुङलाजे, किरात, खसान, तमुवान र मगरात लगायतका सुनिश्चितता गर्न गराउन सक्नुपर्दछ । सङ्ख्यात्मक रूपमा सबैभन्दा थोरै जनसङ्ख्या भएको राष्ट्र (समुदाय)को पनि अधिकारको सुनिश्चिता गर्न सक्नुपर्दछ ।
यो झगडा गरेर बस्ने समय होइन । यो त आफूलाई चिन्ने अवसर हो । म को हुँ र को होइन भनेर बुझ्ने र बुझाउने समय हो । अन्यसँग ईर्ष्या, द्वेष र रिस साँध्ने बेला होइन । विश्वमा रहेका राज्यविहीन राष्ट्रहरूलाई एकताबद्ध गर्ने अवसर हो । आयु सकिँदै गरेको धरामाताको आयु बढाउनतिर लाग्ने समय हो । मानव केन्द्रित साथै एक केन्द्रवादी दुष्चक्रबाट चराचर जगत्लाई मुक्ति र निर्वाणको मार्गमा लामबद्ध गराउने मौका हो । धन्यवाद !
१६ कात्तिक ’८३