
आज लोकतन्त्रमा राज्यले दिने एक दिने सार्वजनिक बिदालाई धेरैले उदारताको रूपमा व्याख्या गर्छन्। तर, तामाङ संस्कारमा यो पर्व कम्तीमा तीन दिनको प्रक्रिया हो । पहिलो दिन शुद्धीकरण, दोस्रो दिन धार्मिक अनुष्ठान र तेस्रो दिन सामाजिक उत्सव। विडम्बना के छ भने, हिन्दु चाडपर्वमा हप्तौँ बिदा दिनुलाई स्वभाविक मान्ने राज्यले आदिवासीका मुख्य पर्वमा दिइने बिदालाई ‘अनुदान’ को रूपमा हेर्ने गरेको छ । यही असमान दृष्टिकोणले नै वर्तमान संविधानको समावेशिताको नारालाई कताकता खोक्रो सावित गरिदिएको छ
- चेत बहादुर लामा,अध्यक्ष,एअनेशिसं,काभ्रे ।
तामाङ समुदायको २०८२ साल माघ ५ गते २८६२ औँ ‘ता-ल्हो’ (घाेडा वर्ग) मन्जुश्री संवत्’ सुरु भएको छ । 

नेपालमा ल्होसारलाई अक्सर ‘बौद्धमार्गीहरूको नयाँ वर्ष’ भनेर एउटै डालोमा हाल्ने गरिन्छ । तर, यो सतही बुझाइ मात्र हो । ल्होसार कुनै एउटा जाति वा साझा मितिको पर्व मात्र होइन । यो त पहिचान, इतिहास र राजनीतिक अस्तित्वको जीवन्त प्रतीक हो । विशेष गरी तामाङ समुदायले मनाउने ‘सोनम ल्होसार’ ले नेपालको सांस्कृतिक विविधतालाई मात्र उजागर गरेको छैन, बरु राज्यको एकात्मक दृष्टिकोणलाई समेत चुनौती दिएको छ ।
ल्होसार ལོ་གསར་ को ऐतिहासिक जरा
ल्होसारको उत्पत्ति तिब्बतको पूर्व बौद्ध काल (१२७ ईसा पूर्वदेखि ६२९ ईस्वी) मा प्रचलित ‘बोन्पो’ धर्मको संस्कारबाट भएको मानिन्छ। प्राचीन समयमा यो एक कृषि उत्सव थियो, जहाँ प्रकृति र ऋतु परिवर्तनलाई पूजा गरिन्थ्यो। तिब्बती भाषामा ‘ल्हो’ (वर्ष) र ‘सार’ (नयाँ) मिलेर ‘ल्होसार’ शब्द बनेको हो। नवौँ राजा पूडे गुंग्याल སྤུ་དེ་གུང་རྒྱལ། (Spu-de Gung-rgyal) ले यसलाई औपचारिक स्वरूप दिएका थिए । पछि बौद्ध धर्मको विस्तारसँगै यो पर्व धार्मिक र आध्यात्मिक पाटोमा अझ समृद्ध बन्दै गयो।
नेपालको सन्दर्भमा यो पर्व तिब्बती-बर्मेली मूलका समुदायहरूले आफ्नो भूगोल र परम्परा अनुसार भिन्दाभिन्दै समयमा मनाउँछन्। गुरुङ समुदायले ‘तमु ल्होसार’ (पुस), तामाङ र ह्योल्मोले ‘सोनम ल्होसार’ (माघ) र शेर्पा समुदायले ‘ग्याल्पो ल्होसार’ (फागुन) मनाउने गर्छन्। तामाङहरूले मनाउने सोनम ल्होसार चन्द्र पात्रोको दोस्रो औंसीसँग जोडिएको छ, जुन ऐतिहासिक कृषि चक्रको उपज हो ।
सांस्कृतिक प्रतिरोध र राजनीतिक प्रश्न
सोनम ल्होसार तामाङ समुदायका लागि केवल नयाँ वर्षको स्वागत होइन, यो त शताब्दीयौंदेखिको दमनविरुद्धको एक ‘सांस्कृतिक प्रतिरोध’ पनि हो। शाहकालीन र राणाकालीन राज्यसत्ताले तामाङ समुदायलाई ‘भोटे’ वा ‘मासिन्या जात’ जस्ता अपमानजनक सम्बोधनमा सीमित गरी उनीहरूको भाषा, भेषभूषा र मौलिक संस्कारलाई किनारामा धकेल्यो।

आज लोकतन्त्रमा राज्यले दिने एक दिने सार्वजनिक बिदालाई धेरैले उदारताको रूपमा व्याख्या गर्छन्। तर, तामाङ संस्कारमा यो पर्व कम्तीमा तीन दिनको प्रक्रिया हो । पहिलो दिन शुद्धीकरण, दोस्रो दिन धार्मिक अनुष्ठान र तेस्रो दिन सामाजिक उत्सव। विडम्बना के छ भने, हिन्दु चाडपर्वमा हप्तौँ बिदा दिनुलाई स्वभाविक मान्ने राज्यले आदिवासीका मुख्य पर्वमा दिइने बिदालाई ‘अनुदान’ को रूपमा हेर्ने गरेको छ । यही असमान दृष्टिकोणले नै वर्तमान संविधानको समावेशिताको नारालाई कताकता खोक्रो सावित गरिदिएको छ ।
कसरी र किन मनाइन्छ?
सोनम ल्होसार नवीकरण र समृद्धिको प्रतीक हो । यो पर्वमा तामाङ समुदायले घर,आँगन सफा गर्ने, नयाँ लुगा लगाउने र ‘चेमा बक्स’ (समृद्धिको प्रतीक) सजाउने गर्छन् । यसका प्रमुख आयामहरू यसप्रकार छन्:
धार्मिक पक्ष: गुम्बा वा गोन्पाहरूमा लामा गुरुहरूबाट पूजापाठ, धूप प्रज्वलन र मुखौटा नृत्य (चाम) मार्फत दुष्ट शक्तिको विनाश र शान्तिको कामना गरिन्छ।
सांस्कृतिक पक्ष: डम्फुको तालमा तामाङ सेलो र म्हेन्दोमाया जस्ता गीत तथा नृत्यले गाउँबस्ती गुञ्जायमान हुन्छन्।
खानपान: खाप्से, गुतुक (नौ मिसावट भएको झोल), थुक्पा र ऐराक (रक्सी) जस्ता परिकारहरूले पाहुनाको सत्कार गरिन्छ ।

यो उत्सवले पारिवारिक बन्धनलाई मजबुत बनाउँदै कम्तीमा १५ दिनसम्म हर्षोल्लासको वातावरण सिर्जना गर्छ।
उपसंहार: विविधता नै शक्ति
नेपाल साँच्चै बहुसांस्कृतिक संघीय लोकतान्त्रिक गणतान्त्रिक देश हो भने ल्होसारलाई केवल पात्रोको एउटा रातो अक्षरको रूपमा मात्र सीमित गरिएको छ,जुन तामाङ जातिको लागि अपमानको बिषय हो । वास्तबमा ल्होसार तामाङ पहिचान र ऐतिहासिक न्यायको विषय हो। सबै ल्होसारका आ-आफ्नै मिति र मौलिकता छन्; यिनलाई एउटै डालोमा खाँद्न खोज्नु तामाङहरूको सांस्कृतिक इतिहास मेट्न खोज्नु हो । राज्यले बुझ्नुपर्छ कि विविधता स्वीकार्दा मात्र सच्चा राष्ट्रिय एकता सम्भव छ । सोनम ल्होसारले दिने मुख्य सन्देश यो हो कि संस्कृति दबाउँदा पहिचान मर्छ भने पर्ब तथा उत्सवले मात्र ल्होसारलाई जीवन्त राख्न सक्दछ भन्ने कुरामा दुई मत छैन ।
