
— जोसेफ स्टालिन

अनुवादः— किरात नाकारा
श्रमिकहरूको संघर्ष सधैं र सबै ठाउँमा एउटै स्वरूपमा देखा पर्दैन ।”
मार्च ३०, १९०८
एक समय यस्तो पनि थियो, जब मजदुरहरूले आफ्ना मालिकहरूविरुद्ध लड्दा मेसिनहरू तोडफोड गर्थे र कारखानाहरूमा आगो लगाउँथे । त्यतिबेलाका मजदुरहरू यसो भन्थे — “मेसिनहरू नै गरिबीका कारण हुन ! कारखाना नै उत्पीडन र दमनको केन्द्र हो ! त्यसैले तिनीहरुलाई तोडफोड गर, जलाइदेऊ !”
तर, त्यो असङ्गठित, अराजकतावादी–विद्रोही संघर्षको समय थियो ।
हामीले अर्को प्रकारका घटनाहरू पनि देखेका छौँ, जहाँ मजदुरहरू आगो लगाउने र मेसिनहरू एवं कारखानाहरु नष्ट गर्ने कार्यबाट निराश भएर निर्देशकहरु, प्रबन्धकहरु, सुपरिवेक्षकहरु आदिको हत्या गर्दै “अझ हिंसात्मक स्वरूप” अपनाए । उनीहरुले भने कि “सबै मेसिन र सबै कारखानाहरू नष्ट गर्न सम्भव छैन, र त्यसो गर्नु मजदुरहरूको हितमा पनि छैन । तर निर्देशकहरु, प्रबन्धकहरु, सुपरिवेक्षकहरु आतंकित पार्न र उनीहरूको घमण्ड तोड्न आतंकवाद प्रयोग गर्नुपर्छ । त्यसैले तिनहरुलाई पिट, डर देखाऊ !”
यो आर्थिक संघर्षबाट उत्पन्न व्यक्तिगत आतंकवादी संघर्षको समय थियो ।
तर, श्रमीक आन्दोलनले ती दुवै प्रकारका संघर्षहरूलाई कडा रूपमा निन्दा र अस्वीकार ग¥यो र तिनलाई इतिहासको विषय बनायो अर्थात त्यसको सट्टा संगठित, सामूहिक र दीर्घकालीन संघर्षको बाटो रोज्यो ।
यो बुझ्न सकिने कुरा हो । निस्सन्देह, कारखाना मजदुरहरूको शोषणको केन्द्र हो, र बुर्जुवा वर्गलाइ मेसिनले अझै पनि अरु थप शोषण विस्तार गर्न मद्दत गर्छ । तर यसको अर्थ मेसिन र कारखानाहरू आफैं गरिबीका कारण हुन् भन्ने हैन । यसको विपरीत, यही कारखाना र मेसिनहरूले नै सर्वहारा वर्गलाई दासत्वका जन्जिरहरू तोड्न, गरिबी हटाउन र सबै प्रकारका उत्पीडनमाथि विजय हासिल गर्न सक्षम बनाउनेछन । यसका लागि आवश्यक कुरा भनेको कारखाना र मेसिनहरूलाई व्यक्तिगत पुँजीपतिहरूको निजी सम्पत्तिबाट जनताको सार्वजनिक सम्पत्तिमा रूपान्तरण गर्नु हो ।
अर्कोतर्फ, यदि हामी मेसिन, कारखाना र रेलमार्गहरू नष्ट गर्न र जलाउन थाल्यौँ भने हाम्रो जीवन कस्तो हुन्थ्यो ? त्यो त एउटा उजाड मरुभूमिमा बाँचेजस्तो हुन्थ्यो, र सबैभन्दा पहिले आफ्नो रोजीरोटी गुमाउने त मजदुरहरू नै हुन्थे ।
तसर्थ, स्पष्ट छ, यदि हामी वास्तवमै गरिबी अन्त्य गर्न चाहन्छौँ भने, मेसिन र कारखानाहरू तोडफोड गर्नु हुँदैन, बरु अवसर आएपछि तिनमाथि स्वामित्व हासिल गर्नुपर्छ ।
त्यसैले श्रमीक आन्दोलनले अराजकतावादी–विद्रोही संघर्षलाई अस्वीकार गर्छ ।
निसन्देह, मजदुरहरूले कहिलेकाहीँ बुर्जुवा वर्गलाई डर देखाउन हिंसात्मक कार्य अपनाउँदा त्यसमा केही बाह्य रूपमा उचित देखिने कारण हुन सक्छ । किनभने, त्यसले मालिक वर्गलाई तत्काल डर पैदा गर्न सक्छ । तर त्यो स्थायी हुँदैन र यदि त्यो आतंक अस्थायी र क्षणिक मात्र हुन्छ भने त्यसको के अर्थ ? त्यो क्षणिक मात्र हुन्छ भन्ने कुरा एउटै तथ्यले स्पष्ट पार्छ—आर्थिक आतंकवादलाई सधैं र सबै ठाउँमा प्रयोग गर्न सम्भव हुँदैन । यो पहिलो कुरा हो । दोस्रो कुरा, यदि हाम्रो पछाडि शक्तिशाली, व्यापक श्रमिक संगठन छैन भने, बुर्जुवा वर्गको अस्थायी डर वा त्यसबाट प्राप्त हुने सानातिना छुटहरूले हामीलाई के फाइदा दिन्छ ? त्यसैले, यस्तो संगठन चाहिन्छ, जुन सधैं मजदुरहरूको मागका लागि लड्न तयार रहोस् र प्राप्त उपलब्धिहरू जोगाउन सक्षम होस् ।
वास्तविक तथ्यहरूले हामीलाई स्पष्ट रूपमा देखाउँछन् कि आर्थिक आतंकवादले त्यस्तो संगठन बनाउने चाहनालाई नै नष्ट गरिदिन्छ । यसले मजदुरहरूबाट एकताबद्ध हुने र स्वतन्त्र रूपमा अगाडि आउने उत्साह खोसिदिन्छ । किनकि उनीहरूसँग उनीहरूको सट्टा काम गरिदिने “आतंकवादी नायक” हरू हुन्छन । त्यसो हो भने—
के हामी मजदुरहरूमा स्वतन्त्र रूपमा कार्य गर्ने भावना विकास गर्न चाहन्छौँ ?
के हामी मजदुरहरूमा एकताको चाहना विकास गर्न चाहन्छौँ ?
निसन्देह, हामी चाहन्छौँ ! तर, आर्थिक आतंकवादले यी दुवै कुरालाई नष्ट गरिदिन्छ भने, के हामी त्यसलाई अपनाउन सक्छौँ ? सक्दैनौँ ।
साथिहरू ! व्यक्तिगत, गोप्य हिंसात्मक कार्यद्वारा बुर्जुवा वर्गलाई आतंकित पार्नु हाम्रो सिद्धान्तविरुद्ध हो । त्यस्ता “कृत्यहरू” बदनाम आतंकवादी तत्वहरूकै जिम्मामा छोडिदिऔँ । हामी त खुला रूपमा बुर्जुवा वर्गविरुद्ध उभिनुपर्छ र अन्तिम विजय नआउन्जेलसम्म त्यसलाई निरन्तर भयको अवस्थामा राख्नुपर्छ । र यसका लागि हामीलाई आर्थिक आतंकवाद होइन, बरु यस्तो शक्तिशाली, व्यापक संगठन चाहिन्छ, जसले मजदुरहरूलाई संघर्षमा नेतृत्व गर्न सक्छ ।
त्यसैले श्रमीक आन्दोलनले आर्थिक आतंकवादलाई अस्वीकार गर्छ ।
माथि भनिएका कुराहरूको आधारमा मिर्जोयेभ (Mirzoyev) हड्ताल गर्ने मजदुरहरूले अपनाएको प्रस्ताव विशेष चासोको विषय बनेको छ, जसमा आगजनी र “आर्थिक” हत्याको विरोध गरिएको छ । यस प्रस्तावमा मिर्जोयेभका १,५०० मजदुरहरूको संयुक्त आयोगले बालाखानीमा भएको बाफ बनाउने मेसिन (बोयलर) राखिएको कोठामा आगो लगाइएको घटना र सुराखानी (Surakhany) मा आर्थिक कारणले प्रबन्धकको हत्या गरिएको घटनाको उल्लेख गर्दै “हत्या र आगजनी जस्ता संघर्षका तरिकाहरूको विरोध”गर्ने घोषणा गरेको छ (हेर्नुहोस्ः Gudok, No. 24) ।
यसद्वारा मिर्जोयेभका मजदुरहरूले पुराना आतंकवादी र विद्रोही प्रवृत्तिहरूसँग अन्तिम रूपमा सम्बन्ध तोडेका छन् ।
यसद्वारा उनीहरूले साँचो श्रमीक आन्दोलनको मार्ग दृढतापूर्वक अपनाएका छन् ।
हामी मिर्जोयेभका साथिहरूलाई अभिवादन गर्छौँ र सबै मजदुरहरूलाई उनीहरूले जस्तै दृढतापूर्वक सर्वहारा वर्गको व्यापक आन्दोलनको मार्ग अपनाउन आह्वान गर्छौँ । (Gudok, , No. 25, March 30, 1908)
Source : Works, Vol. 2, 1907 – 1913
Publisher : Foreign Languages Publishing House, Moscow, 1954.