
“१०० दिनभित्र हजारौँ युवा स्वदेश फर्काइनेछ।”नयाँ राजनीतिक दल उदाएपछि गरिएको यो घोषणा धेरै युवाका लागि आशा बन्यो ।विदेशिएका युवालाई फर्काएर देशमै रोजगारी सिर्जना गर्ने वाचा नेताहरूका भाषणमा बारम्बार सुनियो। “विदेशका गल्ली–गल्लीमा नेपाल फर्किन सूचना टाँसिनेछ,” भन्ने अभिव्यक्तिले सामाजिक सञ्जालदेखि गाउँका चौतारासम्म बहस जन्माएको थियो।

तर सरकार बनेको १०० दिन पुग्नै लाग्दा प्रश्न उभिएको छ, युवाहरु कति फर्किए ? यसको तथ्यांक सरकारसँग छैन। बरु दैनिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीडले अर्कै कथा सुनाइरहेको छ। विदेशिने युवाको लर्को रोकिएको छैन। दैनिक हजारौँ युवा हवाईजहाज चढिरहेका छन्।
आज पनि करिब ८० लाख नेपाली युवाहरू विदेशी भूमिमा पसिना बगाइरहेका छन्। गाउँका खेतबारी रित्तिँदै छन्, घरका आँगन वृद्ध र बालबालिकामा सीमित हुँदै गएका छन्। देशभित्र रोजगारी सिर्जनाको भाषण चर्को छ, तर व्यवहारमा युवाहरू अझै बाध्यतावश उडिरहेका छन्।
यही यथार्थका एक प्रतिनिधि पात्र हुन् काभ्रे खानीखोलाका जीवन घिसिङ।
“गाउँमै बसेर केही गर्नुपर्छ” भन्ने सोचका साथ उनले विभिन्न व्यवसायमा निरन्तर संघर्ष गरे। राजनीतिमा पनि सक्रिय रहे। सानै उमेरदेखि विभिन्न संगठनमा आबद्ध भए। खानीखोलाका गाउँ–बस्ती, उकालो–ओरालो र चौताराहरूमा पार्टीको झण्डा बोकेर हिँड्ने युवामध्ये अग्रपंक्तिमा चिनिन्थे। तर अन्ततः उनी पनि विमानस्थल पुगे।
मलिन अनुहार, आफन्तसँगको बिदाइ, सम्झनाका लागि केही तस्वीर, श्रीमती र हुर्कंदै गरेका छोराछोरीलाई सान्त्वना, अनि फेरि अर्को नेपाली युवा विदेशी आकाशतिर उड्यो।

यो जीवन घिसिङको मात्र कथा होइन।
देशमै बसेर केही गर्ने सपना देखेका हजारौँ युवाको कथा हो, जसले अन्ततः आफ्नो श्रम, पसिना र समय विदेशी भूमिलाई सुम्पन बाध्य भएका छन्।
खानीखोला गाउँपालिका-३ का वडा अध्यक्ष सागर जिम्बाले जीवनको विदेश यात्राप्रति भावुक हुँदै सामाजिक सञ्जालमा लेखेको स्टाटसले पनि यही पीडा उजागर गर्छ। उनले जीवन घिसिङलाई “खानीखोलाको होनहार युवाको पर्याय” भन्दै गाउँमा टिकाउन नसकेकाेमा दुख ब्यक्त गरे, गाउँको राजनीति र सामाजिक योगदान सम्झिँदै वैदेशिक यात्रा सफलताको शुभकामना दिएका छन्।
उनको शब्दमा,
“खानीखोलाको हरेक गाउँ–बस्ती, उकालो–ओरालो, भन्ज्याङ र चौतारीमा राजनीति र सामाजिक कामको क्रममा पसिना बगाएका घिसिङ अब विदेशी भूमिमा पसिना बगाउन बाध्य भएका छन्।”
यो अभिव्यक्तिमा एउटा वडा अध्यक्षको भावुकता मात्र छैन, राज्यप्रतिको गुनासो पनि छ।
देशका लागि आफ्नो युवावस्था खर्चिएका युवालाई देशले के दियो?
गाउँमा राजनीतिक आन्दोलनका नाराहरू अझै सुनिन्छन्, तर ती नारामा सहभागी युवाहरू भने विस्तारै विदेशतिर हराइरहेका छन्।
एकातिर “स्वदेशमै रोजगारी” को भाषण छ, अर्कोतिर गाउँका उत्पादनशील हातहरू विमानस्थलको लाइनमा छन्।
नेपालको राजनीति अहिले घोषणाले भरिएको छ, तर गाउँहरू यथार्थले रित्तिएका छन्।
रोजगारी, उत्पादन र भविष्यको सुनिश्चितता बिना “स्वदेश फर्काउने” नाराले मात्र युवालाई रोक्न सक्दैन। जबसम्म गाउँमै श्रमको सम्मान र जीविकाको आधार निर्माण हुँदैन, तबसम्म विमानस्थल नेपाली युवाको सबैभन्दा ठूलो ‘रोजगार केन्द्र’ बनिरहनेछ।