
• चेत बहादुर लामा

नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान तरल अवस्था, नेतृत्वको कार्यशैली र आसन्न वाम सहकार्यको प्रयासमाथि केही महत्त्वपूर्ण र तार्किक प्रश्नहरू उठ्नु स्वाभाविक हो । जनस्तर र कार्यकर्ता पंक्तिमा उब्जिएका संशयहरूलाई नजरअन्दाज गर्न मिल्दैन। तर, राजनीतिक घटनाक्रमलाई केवल ‘सतही सत्तालिप्सा’, ‘नेतातन्त्रको महत्त्वाकांक्षा’ वा ‘कानुनी डन्डाबाट बच्ने आत्मरक्षा’ को रूपमा मात्र व्याख्या गर्नु गैर मार्क्सवादी र अधिभूतवादी (Metaphysical) दृष्टिकोण हुन जान्छ।
मार्क्सवादी द्वन्द्वात्मक भौतिकवादी (Dialectical Materialism) र ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट हेर्दा, राजनीतिक दलहरू र तिनका कदमहरू केवल व्यक्तिविशेषको सनक वा डरबाट निर्देशित हुँदैनन्, बरु ती वस्तुगत परिस्थिति, वर्गीय हित र अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अन्तर्विरोधका उपज हुन्छन्।
मार्क्सवादी दृष्टिकोणबाट निम्नानुसार संश्लेषणात्मक विश्लेषण गर्न सकिन्छ:
१. सर्वहाराकरण र नेतृत्वको जीवनशैली संकीर्ण नैतिकतावादी हो कि वस्तुवादी दृष्टिकोण ?
आलोचकहरूले नेताहरूको जीवनशैलीलाई लिएर ‘सर्वहाराकरण’ को प्रश्न उठाएका छन्। मार्क्सवादले संकीर्ण नैतिकतावाद (Moralism) वा संन्यासवादको वकालत गर्दैन। सर्वहाराकरणको अर्थ ‘गरिबीको वितरण’ वा नेताहरू सधैँ झुत्रेझाम्रे नै रहनुपर्छ भन्ने होइन। मार्क्सवादी अर्थशास्त्रले उत्पादनका साधनमाथिको स्वामित्व र वर्गीय हितको प्रतिनिधित्वलाई हेर्छ।
क. ऐतिहासिक सन्दर्भ र घेराबन्दी: २०८२ को निर्वाचन परिणाम र त्यसपछिका घटनाक्रमहरू (जस्तै विष्णु पौडेलमाथिको कारबाही) लाई केवल ‘डन्डा’ को रूपमा मात्र हेर्नु एकाङ्गी हुन्छ। नवउदारवादी पुँजीवाद र बुर्जुवा राज्यसत्ताले सधैँ कम्युनिस्ट आन्दोलनलाई बदनाम गर्न र यसका नेतृत्वलाई कानुनी फन्दामा पारेर सिध्याउन ‘राज्यका औजारहरू’ प्रयोग गर्छ।
ख. रणनीतिक मोर्चाबन्दी: दक्षिणपन्थी र पपुलिस्ट (पपुलिजम) शक्तिहरू मिलेर जब सर्वहारा वर्गको राजनीतिक प्रतिनिधिलाई नै समाप्त पार्ने प्रपञ्च रच्छन्, तब मार्क्सवादीहरूका लागि कार्यगत एकता वा मोर्चाबन्दी गर्नु ‘सत्तालिप्सा’ होइन, बल्कि वर्ग संघर्षको मोर्चा बचाउने रणनीतिक रक्षा र प्रत्याक्रमणको तयारी हो। लेनिनले ‘वामपन्थी कम्युनिस्ट आन्दोलन एक बालरोग’ मा स्पष्ट पार्नुभएको छ कि वर्ग शत्रुसँग लड्नका लागि सम्झौताहरू र मोर्चाहरू अनिवार्य हुन्छन्।
२. २०७४ को एकता र विघटन व्यक्तिवादी महत्त्वाकांक्षा कि वर्ग संघर्षको कडी हो ?
विगतको नेकपाको विभाजनलाई केवल ओली, दाहाल वा नेपालको ‘व्यक्तिगत टक्कर’ को रूपमा बुझ्नु ऐतिहासिक भौतिकवाद विपरीत हुन्छ। मार्क्सवादले भन्छ:पार्टीभित्रको संघर्ष समाजमा विद्यमान वर्ग संघर्षकै प्रतिबिम्ब हो।
३. संविधान र समावेशिताको संवाहक: आज नेपालमा जुन समावेशिता, धर्मनिरपेक्षता, संघीयता र गणतन्त्र छ, यो कुनै गैर बामपन्थी वा पपुलिस्ट शक्तिले ल्याएको होइन। यो तत्कालीन नेकपा (माओवादी) को जनयुद्ध र नेकपा (एमाले) लगायत अन्य बामपंथी तथा देशभक्तहरुले विभिन्न कालखण्डमा गरेका जनआन्दोलनहरूको साझा वैचारिक जग (जस्तै जनताको बहुदलीय जनवाद र २१ औं शताब्दीको जनवाद) कै परिणाम हो। आफ्नै नेतृत्वमा स्थापित यी एजेन्डाहरूलाई परिमार्जन गर्दै समाजवादतर्फ लैजानका लागि नै आज वाम ध्रुवीकरण आवश्यक भएको हो।
४. उपसंहार: इतिहासको भद्दा मजाक होइन, द्वन्द्वात्मक फड्को हो ।
मार्क्सवादी दर्शनको ‘निषेधको निषेध नियम’ (Law of Negation of the Negation) अनुसार, इतिहास सधैँ सिधा रेखामा हिँड्दैन, यो घुमाउरो बाटो हुँदै अगाडि बढ्छ। २०७७ सालमा नेकपाको विघटन ‘पहिलो निषेध’ थियो भने आजको परिस्थितिमा फेरि वाम शक्तिहरू एक ठाउँमा उभिन खोज्नु ‘निषेधको निषेध’ अर्थात् उच्च स्तरको नयाँ एकताको प्रस्थानविन्दु हो।
वर्तमान सरकार र दक्षिणपन्थी शक्तिहरूको ‘अनुदार कार्यशैली’ र ‘कानुनी कसाइ’ वास्तवमा कम्युनिस्टहरूका लागि ऐतिहासिक पाठ र दबाब दुवै बनेको छ। यो वस्तुगत दबाबले नै कम्युनिस्टहरूलाई आ-आफ्ना संकीर्णता त्यागेर बृहत् वर्गीय हितका लागि एक ठाउँमा आउन बाध्य पारेको छ।
त्यसैले, विराटनगरबाट सुरु भएको यो वाम एकताको नयाँ तरंग कुनै ‘सत्तास्वार्थको खेल’ वा ‘बेमौसमी बाजा’ होइन। यो त पूँजीवादी अधिनायकत्व, नवउदारवादी आर्थिक संकट र पपुलिजमको दक्षिणपन्थी भेलका विरुद्ध श्रमजीवी नेपाली जनताको रक्षाका लागि वामपन्थी शक्तिहरूले चाल्नै पर्ने एक अनिवार्य, वस्तुवादी र ऐतिहासिक कदम हो। वास्तविक रूपान्तरण र पुस्तान्तरण पनि पार्टीहरूलाई फुटाएर वा विघटन गरेर होइन, बरु बृहत् वाम मञ्चभित्रको आन्तरिक संघर्ष र वैचारिक मन्थनबाटै सम्भव छ।