Khulla Bichar Online

“म रोपाहार हुँ “

 “म रोपाहार हुँ “

                 ✍️रचना मोक्तान यात्री

पहाडका थुम्काहरूले

वर्षा ऋतुको रिमझिम बहारलाई

धर्ती भिज्ने गरी खन्याएपछि

आँखामा बिहान मिचेर

कानमा भालेको अलाराम सँगै

परेलीमा घाम जन्माउने रोपाहार हुँ म ।

 

चूल्ठोमा कोम्हेन्दो सिउरेर

कम्मरमा गुन्युको सप्को लगाउँदै

संगीनिको ओठ सँगै चाहना सुसेलेर

घुमको पछ्यौरीले कपाल ढाक्दै

खुट्टामा बाटो हिंडाउने रोपाहार हुँ म ।।

 

हली दाई र बाउसे दाईले

गह्राका उबडखाबडहरू सम्याएपछि

राता चुराहरूको छनछनी संगीतमा

दबदबे हिलो भित्र हत्केला बजाउँदै

हरिया बीऊहरूको असारे लय रोपेर

पिठ्युँमा बतासको खुई कडाउने रोपाहार हुँ म ।।।

 

मानो खाएर मूरी उमार्ने समयमा

लाग्ने गर्छ किसान महोत्सव

निधारमा माटोको टीका

र शिरमा बीउको जमरा टाँसेर

कुलोको पानीले जवानी भिजाउँदै

दुःखको पटुकीले पेट बाँध्ने रोपाहार हुँ म ।।।।

 

हृदयको एउटा कुनामा वेदना लुकाएर

आँखाका क्षितिजमा खुशीको लाली पोत्दै

सुनको बालामा धान झुलाएर

मनको खलामा यौवन फुलाएर

सुनौलो मंसिर पर्खिरहेकी रोपाहार हुँ म ।।।।।

 

बेठीमा बजेको पञ्चेबाजा सँगै

मंसिर पर्खिरहेकी रोपाहार हुँ म ।।।।।।

               *********

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.