
“म रोपाहार हुँ “

✍️रचना मोक्तान यात्री
पहाडका थुम्काहरूले
वर्षा ऋतुको रिमझिम बहारलाई
धर्ती भिज्ने गरी खन्याएपछि
आँखामा बिहान मिचेर
कानमा भालेको अलाराम सँगै
परेलीमा घाम जन्माउने रोपाहार हुँ म ।
चूल्ठोमा कोम्हेन्दो सिउरेर
कम्मरमा गुन्युको सप्को लगाउँदै
संगीनिको ओठ सँगै चाहना सुसेलेर
घुमको पछ्यौरीले कपाल ढाक्दै
खुट्टामा बाटो हिंडाउने रोपाहार हुँ म ।।
हली दाई र बाउसे दाईले
गह्राका उबडखाबडहरू सम्याएपछि
राता चुराहरूको छनछनी संगीतमा
दबदबे हिलो भित्र हत्केला बजाउँदै
हरिया बीऊहरूको असारे लय रोपेर
पिठ्युँमा बतासको खुई कडाउने रोपाहार हुँ म ।।।
मानो खाएर मूरी उमार्ने समयमा
लाग्ने गर्छ किसान महोत्सव
निधारमा माटोको टीका
र शिरमा बीउको जमरा टाँसेर
कुलोको पानीले जवानी भिजाउँदै
दुःखको पटुकीले पेट बाँध्ने रोपाहार हुँ म ।।।।
हृदयको एउटा कुनामा वेदना लुकाएर
आँखाका क्षितिजमा खुशीको लाली पोत्दै
सुनको बालामा धान झुलाएर
मनको खलामा यौवन फुलाएर
सुनौलो मंसिर पर्खिरहेकी रोपाहार हुँ म ।।।।।
बेठीमा बजेको पञ्चेबाजा सँगै
मंसिर पर्खिरहेकी रोपाहार हुँ म ।।।।।।
*********