
• सलन मगर काभ्रेली

परालको छानो, बाँसले बारेको बार, माटोले लिपेका भित्ताहरू र ढुङ्गाले चाङ लगाएको सानो आँगन।
सहरको आँखाले हेर्दा त्यो एउटा गरिब परिवारको सामान्य झुपडी थियो। तर मेरो स्मृतिमा त्यो झुपडी सामान्य घर थिएन। त्यो एउटा इतिहास थियो, एउटा आश्रयस्थल थियो, एउटा विश्वास थियो र हजारौँ सपना बोकेको क्रान्तिकालीन जीवनको जीवन्त साक्षी थियो।
आज समय धेरै अगाडि बढिसकेको छ। जीवनका बाटाहरू फेरिएका छन्। हिजोका ती कठिन दिनहरू सम्झँदा कहिलेकाहीँ लाग्छ हामीले कस्तो जीवन बाँचेछौँ! न आफ्नै घर थियो, न निश्चित बास, न भोलिको कुनै भरोसा। तर मनभित्र एउटा अठोट थियो, आँखाभरि परिवर्तनको सपना थियो र पाइतालामा निरन्तर यात्राको बाध्यता थियो।

त्यही यात्रामा यस्ता झुपडीहरू भेटिन्थे, जसले हामीलाई आफ्नै सन्तानलाई जस्तै माया र संरक्षण दिन्थे।
हामी रातको अँध्यारोमा पुग्थ्यौँ। घरका मानिसहरू निदाइसकेका हुन्थे। तर हाम्रो आगमनसँगै त्यो घर फेरि जाग्थ्यो। कसैले आगो बाल्थे, कसैले पानी तताउँथे, कसैले बचेको खाना निकाल्थे। कहिलेकाहीँ घरमा भएको थोरै अन्न पनि हामीसँग बाँडिन्थ्यो।
आफ्ना छोराछोरीले खान पाऊन् कि नपाऊन्, पाहुना बनेर आएका हामी भोकै नजाऔँ भन्ने उनीहरूको मन हुन्थ्यो।
त्यो बेला हामी केवल एउटा घरमा बास बसिरहेका हुँदैनथ्यौँ, हामी एउटा परिवारको माया र विश्वासभित्र आश्रय लिइरहेका हुन्थ्यौँ।
कहिलेकाहीँ शत्रुको खोजी र घेराबन्दीको त्रासले घरभित्र बस्नसमेत सम्भव हुँदैनथ्यो। हामीलाई गोठमा, परालको कुनामा, मकैबारीमा वा अँध्यारा कोठाभित्र लुकाइन्थ्यो। घरका मानिसहरू आफ्नै ज्यान जोखिममा राखेर हाम्रो सुरक्षा गर्थे।
बाहिरबाट हेर्दा उनीहरू सामान्य किसान थिए। तर उनीहरूको छातीभित्र असाधारण साहस थियो। उनीहरूले हामीलाई केवल राजनीतिक कार्यकर्ता वा बन्दुक बोकेका मानिसका रूपमा हेरेनन्, आफ्नै छोराछोरी र दाजुभाइका रूपमा स्वीकार गरे।
कहिलेकाहीँ कुनै आमाले आफ्नै छोराको उमेरको एउटा युवालाई हेर्दै भन्थिन्, “बाबु, खाना खायौ कि खाएनौ?”
त्यो एउटा सामान्य प्रश्नजस्तो लाग्थ्यो। तर घरबाट टाढा, अनिश्चित यात्रामा हिँडिरहेको हाम्रो जीवनमा त्यो प्रश्नभित्र आमाको सिङ्गो माया लुकेको हुन्थ्यो।
कसैले पुरानो लुगा दिन्थे, कसैले बाटोको खबर सुनाउँथे, कसैले शत्रुको गतिविधिबारे सूचना पुर्याउँथे। कसैले आफ्नो घरको ढोका खोलिदिन्थे, कसैले आफ्नो आँगन सुरक्षित ठानिदिन्थे।
हामीसँग धेरै कुरा थिएनन्। न ओछ्याउने राम्रो बिस्तरा, न सिरानी। कहिलेकाहीँ ढुङ्गालाई सिरानी बनाएर चिसो भुइँमा रात बिताउँथ्यौँ। भोक, थकान, डर र अनिश्चितता हाम्रा यात्राका नियमित साथी थिए। तर ती सबैभन्दा माथि एउटा विश्वास थियो—हामी एक्ला छैनौँ।
त्यो झुपडीमा बसेर हामीले केवल खाना खाएनौँ, त्यहाँ हामीले सम्बन्धको वास्तविक अर्थ सिक्यौँ। रगतको नाता नभए पनि मानवीय सम्बन्ध कति गहिरो हुन सक्छ भन्ने बुझ्यौँ।
आज पनि सम्झन्छु, त्यतिबेला १९/२० वर्षको एउटा भाइ काँधमा बन्दुक बोकेर परिवर्तनको सपना देख्दै हिँडिरहेको हुन्थ्यो। उसको अनुहारमा भविष्यप्रतिको आशा हुन्थ्यो। उसको आँखामा एउटा सुन्दर समाज निर्माण गर्ने कल्पना हुन्थ्यो। उसलाई आफ्नो जीवनभन्दा पनि आफूले बोकेको विचार ठूलो लाग्थ्यो।
तर ती युवाहरूको पछाडि उभिएका हजारौँ गाउँले आमाबुबा, दाजुभाइ, दिदीबहिनी र परिवारहरूको योगदान इतिहासका पानामा कति लेखिए होलान्?
कति आमाहरूले आफ्ना छोराछोरीसरह माया दिए होलान्? कति बाबाहरूले आफ्नो थोरै अन्न बाँडेर भोक मेटाइदिए होलान्? कति दिदीबहिनीहरूले आफ्नै सुरक्षाको चिन्ता नगरी बाटो देखाइदिए होलान्? कति घरका ढोकाहरूले जोखिम मोलेर पनि आश्रय दिए होलान्?
यी सबै सम्झँदा लाग्छ, जनयुद्धको इतिहास केवल मोर्चामा लडेका योद्धाहरूको इतिहास होइन। त्यो त ती अनगिन्ती आमाहरूको आँसु, किसानहरूको पसिना, गाउँलेहरूको विश्वास र हजारौँ परिवारले गरेको निःस्वार्थ त्यागको इतिहास पनि हो।
आज म जीवनको अर्को मोडमा उभिएको छु। समयले मलाई नयाँ जिम्मेवारी दिएको छ। अहिले म स्थायी शिक्षकका रूपमा बालबालिकाको भविष्य निर्माण गर्ने यात्रामा छु। तर जीवनको यो वर्तमानले विगतलाई बिर्साएको छैन। बरु विगतका ती दिनहरू सम्झँदा मानिस, समाज र सम्बन्धको मूल्य अझ गहिरो गरी महसुस हुन्छ।
कहिलेकाहीँ मनमा प्रश्न उठ्छ—ती झुपडीहरू आज कहाँ होलान्? ती आमाहरू कस्तो अवस्थामा होलान्? हामीलाई आफ्नै सन्तान ठानेर खाना खुवाउने ती हातहरू आज पनि हामीलाई सम्झन्छन् कि सम्झँदैनन्? ती घरका आँगनमा खेल्ने बालबालिका आज कस्ता भए होलान्?
सायद तीमध्ये कतिपयले हामीलाई बिर्सिसके होलान्। तर हामीले उनीहरूलाई बिर्सन मिल्दैन। किनकि हाम्रो कठिन यात्रामा उनीहरूले दिएको माया र विश्वास कुनै सामान्य सहयोग थिएन। त्यो हाम्रो जीवनको अमूल्य सम्पत्ति थियो।

आज ती झुपडीहरू भत्किए होलान्। परालका छाना फेरिए होलान्। माटोका भित्ताहरूको ठाउँमा पक्की घर बने होलान्। तर मेरो स्मृतिमा ती झुपडीहरू अझै उस्तै छन्—जहाँ भोकले थाकेको शरीरले खाना पायो, थकित पाइलाले विश्राम पायो र अनिश्चित भविष्य बोकेको मनले आत्मीयताको न्यानोपन पायो।
मेरा लागि त्यो झुपडी केवल बस्ने घर थिएन, त्यो विश्वासको मन्दिर थियो। त्यहाँको माया कुनै दस्तावेजमा लेखिएको थिएन, तर मेरो हृदयमा सधैँका लागि कुँदिएको छ।
इतिहास लेख्दा ठूला मोर्चा, ठूला नेता र ठूला घटनाहरूको चर्चा अवश्य हुन्छ। तर इतिहासको वास्तविक गहिराइ ती साना घरहरूमा पनि लुकेको हुन्छ, जहाँ कुनै स्वार्थबिना मानिसले मानिसलाई बचाएको थियो।
आज म ती सबै नाम नखुलेका घरपरिवारहरूप्रति हृदयदेखि नतमस्तक छु।
किनकि हामीले त्यो बेला केवल झुपडीमा आश्रय पाएका थिएनौँ, हामीले त्यहाँ आमाको माया पाएका थियौँ, परिवार पाएका थियौँ र मानवीय विश्वासको सबैभन्दा सुन्दर पाठ सिकेका थियौँ।
कुनै दिन इतिहासले ती सबै नदेखिएका अनुहारहरूको पनि कथा लेखोस्। उनीहरूको त्याग, माया र योगदानलाई पनि सम्झियोस्।
मलाई लाग्छ, जीवनको अन्तिम समयसम्म पनि त्यो झुपडी मेरो स्मृतिबाट कहिल्यै मेटिने छैन।
किनकि कतिपय घरहरू इँटा र माटोले मात्र बनेका हुँदैनन्, ती माया, विश्वास, त्याग र आत्मीयताले बनेका हुन्छन्। त्यस्ता घरहरू भत्किए पनि मानिसको हृदयबाट कहिल्यै भत्किँदैनन्।