
तिमीहरूको नजरबाट टाढा छु!


• राजीव माेक्तान तामाङ
तिमीहरूको नजरबाट टाढा छु
किनकि म तिमीहरू जस्तो देख्दिन !
म झ्योमाे लुङमा गाङ् भन्छु,
तिमीहरू सगरमाथा भन्छौ ।
म याम्बु,खाेपाेङ र हेराङ भन्छु
तिमीहरु अर्कै अर्कै खै के के भन्छाैं ।
जुन मेरो लागि राजधानी होइन,
मेराे लागि त्यो सम्झनाको ईतिहास हो
जहाँबाट लस्करै हिँडेका थिए मेरा पुर्खाहरु
ढाँकिएका थिए,वरिपरिका डाँडापाखाहरु
बनाएका थिए,डम्फु र तामसालिङ
आरानमा फलाम चुटिरहेका बिसेलाई
म शिल्पी भन्छु र सलाम गर्छु
तिमीहरु कामी भन्छाैं र छि छि गर्छाैं ।
बगरमा गिटी फाेरीरहेका हर्क राईलाई
म सिर्जनशील भन्छु र सलाम गर्छु
सहरको सिसाकाे झ्यालबाट हेरेर
तिमीहरु पटमुर्ख पागल मेयर भन्छाैं।
अ हाे! हेर त कति फरक छ हाम्रा नजरहरुमा?
तिमीहरूले पटमुर्ख देख्यौ, मैले श्रम र सिर्जशिल देखेँ
तिमीहरूले अछुत देख्याैं,मैले श्रम र जीवन देखेँ
उनीहरुकाे ज्यावल,हथौडा र हिँउजस्तो अनुहारमा।
मैले देशकाे भबिस्य देखे,फुटेका ती हत्केलाहरुमा ।
त्यसैले! म तिमीहरूको नजरबाट टाढा छु।
म माटो सुँघेर भाषा बुझ्ने काेशिष गर्छु
शब्द शब्द होइन, ध्वनि ध्वनि सुन्छु।
तिमीहरु अरुलाई गिजाईरहन्छाै।
म पुर्खाको पाइला पाइला पछ्याउँछु,
चिहानहरूमा हाँस्ने विरासत बचाउँछु।
त्यसैले! म तिमीहरूको नजरबाट टाढा छु।
म बाङ्गालाई सिधा भन्दिन
म सिधालाई टेडाे ठान्दिन
महाराज हजुरकाे पहिरन कति सुहाँकाे भन्दै
म कसैलाई नाङ्गै पार्दिन
म आफ्नै पदमार्गमा छु
त्यसैले तिमिहरुकाे नजरबाट धेरै टाढा छु।
किनकि म आत्मसम्मानको बाटो छु
म अझै पनि आफ्नो भाषामा
तिमीहरूलाई ‘शुभकामना’ भन्न रुचाउँछु।