Khulla Bichar Online

लालझण्डामुनि छटपटाएका जीवनहरू

• लक्ष्मी तामाङ -सर्लाही

यो तस्बिरको अग्रभागमा रहेका ती तीन व्यक्ति मेरा कमान्डरहरू मात्र होइनन्, अभिभावक, सहयात्री र मेरा घाइतेहरू पनि हुनुहुन्थ्यो।

दायाँतिरका कमरेड उर्जासँग मेरो भेट म जनसेनामा फर्मेसनबद्ध हुँदै गर्दा चौँधौँ बटालियनको ‘ए’ कम्पनीमा भएको थियो। म भर्खरै स्वास्थ्य तालिम सिकेर फर्मेशनमा आबद्ध भएकाे थिए। दोरम्बामा एक्काइस जनाको हत्याकाण्डपछि भंग भएको युद्धविराम पश्चात् हाम्रो कम्पनी कुनै विशेष कार्ययोजनाका लागि सिन्धुलीतर्फ जाँदै थियो। कमान्डर निर्मल र कमिसार विकासले आदेश प्रदान गर्नुभएको अनुसार दोरम्बामा सेल्टर लिँदै गर्दा त्यस साँझ एक कमरेडको सानो कमजोरीले ठूलो आन्तरिक दुर्घटना हुन पुग्यो।

त्यसभन्दा अघि मैले घाइते उपचारको व्यवहारिक अनुभव खासै लिएको थिइनँ। कम्पनी इन्चार्ज सहिद कुमारी घाइते उपचारकै लागि टोलीसहित बाहिर हुनुहुन्थ्यो। आकस्मिक रूपमा यति ठूलो दुर्घटना घट्यो कि घरका जनता सहित पाँच जना गम्भीर घाइते भए। त्यसमा पनि कमरेड अटुटले दोहोरो साससम्म फेर्न पाएनन्। कमरेड सुराेज पैंतालीस मिनेटभित्र शहीद भए। कमरेड उर्जा आफूबाट रगतको धारा बगाउँदै खाटमा सम्हालिइरहनु भएको थियो। कमरेड योद्धा रगत थुकेर बारीमा गएर लड्नुभयो। घरका दाइको हिपको मासुको ठूलो भाग चुँडिएको थियो।

ग्रिनेड विस्फोट भएलगत्तै भित्र रहेका साथीहरूको अवस्था बुझ्दै जाँदा गुन्द्रीमा अल्झिएर म अटुटको शरीरमाथि घोप्टिन पुगेँ। मेरो दाहिने हात कुनै हल्का तातो, कमलो तरलभित्र डुबेजस्तो अनुभूति भयो। उठ्ने कोसिस गर्दै गर्दा कमान्डर निर्मलले बाल्दै ल्याउनुभएको मैनबत्ती कोठाभित्र प्रवेश भयो। तब मात्र थाहा भयो,मेरो हात अटुटको मुटुमा रहेछ, जहाँबाट तातो रगत बगिरहेको थियो।

चिच्याहट थियो, आतङ्क थियो, जनतामा त्रास छाएको थियो। संगै नेतृत्वबाट तत्काल परिस्थिति सम्हाल्ने आदेश आयो। तर म के गर्ने, कस्तो गर्ने, कसरी गर्ने,पूर्ण अन्योलमा थिएँ। तर छुट थिएन, जबर्जस्ती मैदानमा उत्रिनु थियो। भर्खरै प्राप्त गरेको सैद्धान्तिक ज्ञान एकएक गरी दिमागमा उतारेँ र व्यवहारमा उतार्ने साहस गरेँ।

सर्वप्रथम रगत रोक्ने उपाय गरेँ। इन्जेक्सनदेखि ब्यान्डेजसम्म मसँग भएका स्रोत–साधन पर्याप्त थिएनन्। त्यसैले सबैलाई उपलब्ध तन्ना र कपडा च्यातेर सम्भावित स्थानहरूमा बाँध्न भनेँ। कोही स्थानीय स्वास्थ्यकर्मी खोज्न गयो, तर आएन,सायद भोलिको अप्ठ्यारोको कारणले।

त्यसपछि दुखाइ कम गर्ने सबै प्रयास म एक्लैले मात्र होइन, अनुभवी घाइते योद्धाहरू आफैं गरिरहेका थिए र मलाई हिम्मत दिइरहेका थिए। यिनैबीच गम्भीर घाइते उर्जा स्वयं मलाई यसरी, त्यसरी, उसरी उपाय सुझाउँदै हौसलायुक्त साथ दिइरहनु हुन्थ्यो।

घटनाको करिब पैंतालीस मिनेटमा सरोजले आफ्नो उपचार गरिदिन निकै अनुरोध गरिरह्यो।

“लक्ष्मी… तपाईं मलाई उपचार नगराउने? मेरो रगत बगेको नरोकाउने? मलाई उपचार गर लक्ष्मी, म बाँच्छु…”

ग्रिनेडका छर्राले सरोजको शरीर एक साइड पूरै छिया–छिया भएको थियो। शिरदेखि पाउसम्म प्रत्येक ठाउँबाट रगत बगिरहेको थियो। म भनिरहेकी थिएँ।

“गरिरहेको छु सुराज, नआत्तिनु, म छु। म जसरी पनि रगत रोकाउँछु, तपाईं धेरै नछटपटिनु।”

तर त्यो मेरो भनाइ औपचारिक मात्र थियो।

उता उर्जा “मलाई उपचार पर्दैन, साथीहरूलाई गर” भन्दै आफ्नै हात आफैं तन्ना र ब्यान्डेजका टुक्राले बाँधिरहनु भएको थियो। उता घरका दाइको रगतले तन्नामा पूरै फाल्सै जमिसकेको थियो।

आधा  घण्टा समय पछि कमरेड सरोजले बोली फेर्‍यो।

“लक्ष्मी… अब मलाई उपचार नगर। खर्च नगर। म बाँच्दिन। औषधि खेर नगर। पार्टीलाई भनिदिनु।गद्दारलाई क्षमा नदिनु। त्यो धोकेबाज हो लक्ष्मी… धोकेबाज। मलाई मार्ने। अटुट पनि मरिसक्यो।”

म पत्थरझैँ भएर उनका शब्दहरू सुनिरहेँ। वरिपरि कोही थिएनन्। बाहिरी खतरा हुन सक्ने भएकाले सबै सतर्क थिए। उर्जा र घरका दाइ पीडाको प्रतिरोध गर्दै आवाज निकालिरहेका थिए। उर्जा त ती आवाजसमेत दबाउने प्रयास गरिरहनु भएको थियो।

म सम्भावित यथार्थ स्वीकार्दै सरोजको छेउमै बसेर केही न केही बोलिरहेकी थिएँ। उहाँ मलाई पर जान, नछुन आदेश दिनुहुन्थ्यो। तर म उही औपचारिकता पूरा गरिरहेकी थिएँ।

“सरोज, म छु। पार्टी छ। उपचार हुन्छ। नआत्तिनु।”

दुर्घटनाको पैंतालीस मिनेटभित्र दुई जना योद्धा गुमायौँ। जनता सहित तीन जना गम्भीर घाइते थिए। हेर्दाहेर्दै रात बिहान भयो। थप उपचारका लागि उर्जा र योद्धालाई कमरेड कुमारीको साथमा अन्तै पठाइयो। घाइते जनताको त्यो दिनभरि म आफैंले उपचार गराएँ र जिल्लाको जिम्मा दिएर सिन्धुलीतर्फ लाग्यौँ।

आधा वर्षपछि उर्जासँग पुनः भेट भयो, जतिबेला उहाँको कान्छी औँला अपाङ्ग भइसकेको थियो। त्यसपछि थुप्रै युद्ध सँगै लड्यौँ। म पनि अनुभवी बन्दै गएँ।

बीचको समयमा मिखायल कमरेडसँग भेट भयो। रातभरको झुरझुरे लडाइँ, दुई दिनको भोक र थकानले लखतरान हुँदै बागमतीको तिरैतिर आउँदै गर्दा रबिन, सिद्धार्थ, सुनिता, प्रभाकरन लगायत थुप्रै साथीहरूको शहादतको खबर सुनेँ।

मध्यरातमा घाइते अवस्थामा मसँग आइपुगेका सबिनले झोला जिम्मा लगाउँदै भने।

“लक्ष्मी… यो झोला जसरी पनि एलिनासम्म पुर्‍याउनु। यसमा हाम्रो विवाहको फोटो छ।”

मैले ढुक्क हुन भनेँ, जिम्मा लिएको बताएँ र उपचारसहित औषधि थमाएर पठाएँ। तर दुर्भाग्यवश त्यो झोला युद्ध अवधिभरि मबाट छुट्यो। त्यसैले म सबिनलाई सम्झिँदै हिँडिरहेकी थिएँ। यही क्रममा घाइते अवस्थामा मिखायललाई भेटेँ। निधार, दुई आँखाबीच देब्रे आँखाको छेउमा छर्रा लागेको थियो।

सबै जना अत्यन्त थकित अवस्थामा यात्रामा थियौँ। मनस्थिति यस्तो भइसकेको थियो। हारेर जित गुमाएको सिपाहीसँग अब गुमाउन बाँकी केही छ भने गुमाइदिऊँ जस्तो निस्फिक्री।

मकवानपुर छाडेपछि काभ्रे प्रस्थान गर्दै गर्दा माथिल्लो जंगलको एक घरमा घाइतेहरू छन् भन्ने खबर आयो। मिखायलले मलाई पनि संगै लगे। भिर–जंगल छिचोल्दै पुग्दा सबिनसहित सात–आठ जना घाइते त्यहाँ थिए।

त्यो घर देखेर मैले आफैंलाई सोधेँ? घर हुन के–के चाहिन्छ?

एक चुलो, एक कराही, एक झ्याङ, दुई–तीन वटा सिलभरका थाल, कचौरा, एक गाग्री, एकथान डाडु–पन्युँ, एउटा आम्खोर, पुरानो सुकुल, माथि चार गरा जति सानो बारी र नजिकै पानीको कुवा यति भए पनि घर रहेछ।

सबैलाई ड्रेसिङ गरेँ। तर सबिन मेरो प्रयास बुझ्न सक्ने अवस्थामा थिएन। उनको अन्डाकोषको आधा भाग अलग्गिएको रहेछ। सलाइन चढाइयो, तर प्रयास सफल हुन सकेन। अन्ततः महाभारतको काखमा, बागमतीको छेउमा, लालझन्डा ओढाएर मिखायलले नै सबिनको अन्त्येष्टि गरे।

 

बायाँपट्टिका कमरेड रञ्जन दाइसँग बिएन भिसीको रूपमा सँगै रह्यौँ। पनौतीमा घाइते भई आँखा गुमाएर फर्किनुभयो। स्वास्थ्य रेखदेखको जिम्मा मेरो थियो। उहाँको कृत्रिम आँखा दैनिक सफा गरिदिन्थेँ। जोखिमबारे सोध्दा मुस्कुराउँदै भन्नुहुन्थ्यो।

“इन्फेक्सनको खतरा छ, त्यसैले सफा गर्नै पर्छ।”

धेरैपछि भेट्दा मैले सोधेँ“आँखा कस्तो छ?”

दाइ मुस्कुराउनु भयो। जवाफ सकियो।

त्यो जवाफ त्यहीँ सकियो। सकाएर सकियो कि सकाउन नचाहँदै सकियो। गणतन्त्रको सपना देख्ने घायलहरूलाई मात्र थाहा होला।

समय धेरै टाढा छोडेर आएँ, तर बिर्सेर आएको होइन। गर्मीमा आगोझैँ पोल्ने, जाडोमा सियोझैँ घोच्ने ती दुखाइहरू नेतृत्वले महसुस गरिदिएको भए,समाजवादअघि थोरै सम्मान, थोरै औषधि र थोरै भरोसा नै काफी हुन्थ्यो।

ती योद्धाहरूको रगत आज पनि मेरा नङको कापहरूमा कतै जमेर बसेजस्तो लाग्छ। युद्धका मैदानमा रगतले लतपतिएका मेरा हातका औँलाहरू नियाल्दा म एक आमाझैँ बन्न पुग्छु। आफ्नै सन्तानझैँ काखमा राखेर उपचार गरेका ती सम्झनाले मुटु च्यापिन्छ।

अन्ततः म आफैंसँग सोध्छु। ती खतहरू हेर्दा कतिको दुख्छन् होला युद्धका घाउ?

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.