
• ठाकुर नाथ गौतम (रोशन) (शिक्षक),काभ्रे

राजनीतिले समाजको दिशा निर्देश गर्दछ भने शिक्षाले समाजको चेतना निर्माण गर्दछ। त्यसैले असल राजनीतिका लागि असल शिक्षा र असल शिक्षाको परिणामस्वरूप सभ्य समाज तथा समृद्ध राष्ट्र निर्माण सम्भव हुन्छ। यही कारण शिक्षा र राजनीतिबीच गहिरो अनुन्याश्रित सम्बन्ध रहेको छ।
संकुचित धारणाबाट सोच्ने हो भने शिक्षा र राजनीति सिद्धान्ततः फरक विषय हुन्। शिक्षा जीवनको लक्ष्य हो भने राजनीति समाज सञ्चालनको दिशा निर्देश गर्ने एक महत्त्वपूर्ण पक्ष हो। शिक्षाले जीवन, जगत र सम्पूर्ण मानवीय स्वरूपका आयामहरूलाई सापेक्षिक ढङ्गबाट अगाडि बढाउन प्रेरित गर्दछ। जब मान्छे शिक्षित हुन्छ, त्यसपछि उसमा रहेका वंशानुगत गुणहरूलाई आर्जित गुणहरूसँग जोडेर उन्नत र व्यवस्थित बनाउँछ।
शिक्षा भनेको त्यस्तो विषय हो, जसले भइरहेका विभिन्न प्राकृतिक, सामाजिक, सांस्कृतिक, आर्थिक लगायत यावत् पक्षहरूलाई व्यवस्थित ढङ्गले जीवन र जगतसँग जोडेर उन्नत किसिमको जीवनयापनका लागि मार्गनिर्देशन गर्दछ। व्यक्तिगत जीवनयापनको शैलीगत रूपान्तरणले पारिवारिक र सामाजिक जीवनलाई अझ व्यवस्थित र उन्नत बनाउँछ भन्ने कुरा सहजै स्वीकार गर्न सकिन्छ। त्यसैले मानिस शिक्षा आफ्नो जीवनको अभिन्न अङ्गका रूपमा लिन्छ।

जब मान्छे शिक्षित हुन्छ, त्यसपछि उसको व्यक्तिगत जीवनका कारण मानवीय मूल्य-मान्यता, धर्म, संस्कृति र नैतिकतालाई एकसाथ परिवार, समाज, राष्ट्र र विश्वलाई सही मार्गनिर्देशन गर्न अभिप्रेरित गर्दै भावी पुस्ताका लागि समेत उत्कृष्ट रोडम्याप निर्माण गर्दछ।
शिक्षा भन्नासाथ यसका विभिन्न आयामहरू हुने गर्छन्। भौतिक रूपमा स्कुल-कलेज वा औपचारिक संस्थामा गएर गुरुले रटाएको विषयमा परीक्षा पास गरी प्रमाणपत्र लिई पुनः जागिरे जीवन जिउनुलाई मात्र शिक्षा मान्ने प्रचलनबाट पछिल्लो समयमा मानिसमा शिक्षाप्रति खासै चासो देखिँदैन। किनकि आम्दानी त जागिर नगर्नेहरूले पनि गरिरहेका छन्, जीवन्त र व्यवस्थित रूपमा स्कुल–कलेज नधाएका मानिसहरूले पनि जीवन चलाइरहेका छन्। त्यसैले प्रमाणपत्रको शिक्षालाई मात्र जीवनसँग जोड्न सकिँदैन।
आम्दानीको स्तरसँग प्रमाणपत्रको शिक्षा जोड्न सकिएला, तर कुनै पनि व्यक्तिले औपचारिक वा अनौपचारिक रूपमा अध्ययन गरेर प्राप्त ज्ञानलाई जीवन र जगतका हरेक पक्षमा प्रयोग गर्दै समाज रूपान्तरणका लागि त्याग गर्न सक्दछ भने त्यस्तो व्यक्तिलाई नै शिक्षित भन्न सकिन्छ। त्यसैले शिक्षा आर्जन गर्नुको अर्थ ज्ञान बोध गर्नु र त्यसको प्रयोग गर्नु हो।
पछिल्लो समयमा मानिस शिक्षित वा ज्ञानी हुनुभन्दा सतही र टालटुले शिक्षामा अभ्यस्त हुँदै गएको देखिन्छ। यसको परिणाम समाजमा नकारात्मक असरका रूपमा देखिनुका साथै भविष्यसमेत अन्योलग्रस्त बन्दै गएको छ। जब मान्छे मानवीयता र नैतिकताबाट टाढा जान्छ, तब पारिवारिक बेमेल, सामाजिक विशृङ्खलता, भौतिक सुखमा अत्यधिक प्रवृत्ति र मानवीय संवेदना हराउँदै जान्छ। यसको मुख्य कारक तत्व शिक्षा नै हो।

शिक्षा आर्जनको मूल उद्देश्य ज्ञान प्राप्ति हो। ज्ञान प्राप्त व्यक्ति नैतिकवान, इमानदार, सहयोगी, सामाजिक, चरित्रवान र दूरदृष्टियुक्त हुन्छ, जसले भविष्यको खाका कोर्न सक्छ र भावी पुस्ताका लागि योगदान गर्न सक्छ। तर पछिल्लो चरणको शैक्षिक प्रणालीमा न त यस्तो ज्ञानको संरचना पाइन्छ, न त मानिसमा त्यस्तो चेतनाले काम गरेको देखिन्छ।
यसै कारण समाजमा द्वन्द्व, हिंसा र सामाजिक एकताको अभाव बढ्दै गएको छ, जसले राष्ट्र र विश्वको अवस्था भयावह बनाइरहेको छ। सहयोगको भावनाभन्दा प्रतिस्पर्धा र टकरावको भावना हावी हुँदै गएको छ। त्यसैले शिक्षामा आधुनिकता, वैज्ञानिकता र सापेक्षतासँगै नैतिकताको प्रश्न पनि गम्भीर रूपमा उठिरहेको छ। जब शिक्षामा नैतिकता र मानवीयता हुँदैन, तब शिक्षा स्वार्थसँग गाँसिएर मानिसलाई दास मनोवृत्तितर्फ धकेल्छ।
राजनीति भन्नासाथ अहिलेको परिवेशमा मानिसले पार्टी पोलिटिक्स, झण्डा बोकेर सत्ता खेल खेल्ने माध्यमका रूपमा बुझ्न थालेका छन् र राजनीतिलाई घृणाको प्रतीकका रूपमा प्रयोग गरिरहेका छन्, जुन नितान्त रूपमा राजनीतिको अपमान हो। वास्तवमा राजनीति भनेको सामाजिक, आर्थिक, सांस्कृतिक र मानव जीवनसँग जोडिएको अत्यन्तै महत्त्वपूर्ण विषय हो।
राजनीतिले समाजलाई सही दिशामा डोर्याउने स्टेयरिङको काम गर्दछ। जसरी गाडी स्टेयरिङले मोडिन्छ, त्यसैगरी समाज राजनीति मार्फत मोडिन्छ। त्यसैले असल र सभ्य समाज निर्माणका लागि शिक्षित, ज्ञानी र नैतिक मानिसहरूले राजनीति गर्नुपर्छ।
प्राचीन कालमा प्लेटो, अरस्तु, चाणक्य जस्ता दार्शनिकहरूले सभ्य समाज निर्माणका लागि शिक्षा र राजनीतिलाई एक-अर्कासँग जोडेर हेरेका थिए। तर पछिल्लो चरणमा सीमा, सत्ता र स्वार्थका कारण राजनीति नैतिकताबाट विचलित हुँदै गयो, जसको परिणामस्वरूप विश्वयुद्ध, गृहयुद्ध र विभिन्न द्वन्द्वहरू देखापरे।
राजनीतिले समाजको दिशा निर्देश गर्दछ भने शिक्षाले समाजको चेतना निर्माण गर्दछ। त्यसैले असल राजनीतिका लागि असल शिक्षा र असल शिक्षाको परिणामस्वरूप सभ्य समाज तथा समृद्ध राष्ट्र निर्माण सम्भव हुन्छ। यही कारण शिक्षा र राजनीतिबीच गहिरो अनुन्याश्रित सम्बन्ध रहेको छ।

नेपालको सन्दर्भमा पछिल्लो समय भड्किँदै गएको राजनीतिले अस्थिरता, सौदाबाजी र अवसरवादी प्रवृत्तिलाई बढावा दिएको छ। यसको परिणामस्वरूप नेपाल विश्व परिवेशमा पछाडि पर्दै गएको छ। हामी पश्चाताप त गर्छौँ, तर आत्ममूल्याङ्कन नगर्दा मूल कारण पहिचान गर्न असफल भइरहेका छौँ।
त्यसैले अब भावी पुस्ताका लागि सही दिशानिर्देशन गर्न शिक्षा प्रणालीमा नैतिक शिक्षालाई प्राथमिकता दिँदै राजनीतिक चेतनासँग जोड्नु आवश्यक देखिन्छ। शिक्षित मात्र होइन, ज्ञानी र असल मानिसहरूले नेतृत्व नगरेसम्म समाज सही दिशामा जान सक्दैन।
अन्ततः शिक्षालाई जीवनसँग जोडेर, मानवीय मूल्य–मान्यता, नैतिकता र सामाजिक उत्तरदायित्वसँग एकीकृत गर्दै अघि बढ्नु नै वर्तमान राज्य संरचना रूपान्तरणको अनिवार्य शर्त हो।