
• लक्ष्मी लामा – केन्द्रीय सदस्य एअनेशिसं

शिक्षा त्यो प्रक्रिया हो जसले मानिसको चेतनामा उज्यालो ल्याउँछ, उसको दृष्टिकोणमा परिवर्तन ल्याउँछ, र जीवनप्रतिको बुझाइलाई गहिरो बनाउँछ।
हामीले शिक्षा भन्नेबित्तिकै विद्यालय, पाठ्यपुस्तक, अंक र प्रमाणपत्र सम्झन्छौं। विद्यार्थी कुन कक्षामा पढिरहेको छ? उसले कति अंक ल्यायो? कुन विषयमा “सफल” भयो?कुन बिषयमा असफल भयाे ? यिनै प्रश्नहरूले हाम्रो शिक्षाको बुझाइलाई साँघुरो बनाउँछन्। तर शिक्षा त यति सीमित हुन सक्दैन। साँचो शिक्षा ती उत्तरहरूमा होइन, ती प्रश्नहरू पछाडिको पहाड र पहाडले निर्माण गरेकाे चेतनामा लुकेको हुन्छ।
शिक्षा भन्नुको अर्थ जानकारी प्राप्त गर्नु मात्रै होइन,रूपान्तरण गर्नु हो। शिक्षा त्यो प्रक्रिया हो जसले मानिसको चेतनामा उज्यालो ल्याउँछ, उसको दृष्टिकोणमा परिवर्तन ल्याउँछ, र जीवनप्रतिको बुझाइलाई गहिरो बनाउँछ। जानकारीले तपाईंलाई तथ्यहरू दिन सक्छ, तर चेतनाको आलोक दिन सक्दैन। जानकारीले तपाईंलाई परीक्षा पास गर्न सक्छ, तर साँचो अर्थमा जीवन दिन सक्दैन ।
त्यसैले कार्ल मार्क्सले भनेका थिए, “हाम्रो कार्य संसारलाई बुझ्नु मात्र होइन, मुख्य कुरा त संसारलाई बदल्नु हो।” यहाँ ‘बदल्नु’ भन्ने शब्दले सामाजिक, वैचारिक र आत्मिक स्तरमा रूपान्तरणको संकेत गर्छ। शिक्षा त्यो शक्ति हो, जसले मानिसलाई सामन्य होइन, संवेदनशील जिम्मेवार नागरिक बनाउँछ।
शिक्षा भनेको प्रश्न गर्न सक्ने सामर्थ्य पनि हो । रटेर जवाफ दिने सीप होइन। घाेकेर लेख्ने क्षमता हाेईन । शिक्षा त्यस्तो शक्ति हो, जसले तपाईंलाई आफूप्रति इमानदार बनाउँछ । आफूलाई ढाट्ने होइन, आफूलाई बुझ्ने प्रयास गर्न बाध्य बनाउँछ। यही कारणले अल्बर्ट आइन्स्टाइनले भनेका छन्, “शिक्षा तथ्यहरू याद गर्नु होइन, सोच्न सिकाउने प्रक्रिया हो।”
जब शिक्षा केवल जानकारी र अंकमा सीमित हुन्छ, तब त्यहाँ प्रतिस्पर्धा जन्मिन्छ, जसमा कोही जित्छ र कोही हार्छ। तर जब शिक्षा रूपान्तरण बन्छ, तब त्यहाँ करुणा, सह-अस्तित्व र गहिरो समझदारी जन्मिन्छ।
पुस्तकले तपाईंलाई विज्ञान, इतिहास वा गणित त सिकाउन सक्छ, तर त्यो तपाईंलाई विनम्रता, धैर्यता, सहानुभूति र आत्मबोध दिन सक्दैन। त्यो कार्य केवल साँचो शिक्षाले गर्न सक्छ, जीवन ब्यबहारले गर्न सक्छ। जसले तपाईंको भित्री दृष्टिलाई उज्यालो बनाउँछ र उजागर गर्छ।
जसरी गौतम बुद्धले भनेका छन्, “हामीलाई हामीबाहेक अरू कसैले उद्धार गर्न सक्दैन; हामी आफैंले बाटो हिँड्नुपर्छ।” त्यसैगरी, शिक्षाको बाटो पनि आफ्नै अनुभूति र आफ्नै यात्राबाट गुज्रिन्छ।
अन्तमा:शिक्षा केवल जानकारी संकलन गर्ने माध्यम होइन, चेतनाको रूपान्तरण गर्ने यात्रा हो। यसको मूल उद्देश्य प्रमाणपत्र प्राप्त गर्नु होइन, जीवन बुझ्नु, आफूलाई चिन्नु र समाजमा सकारात्मक परिवर्तन ल्याउनु हो। साँचो शिक्षा त्यो हो, जसले सोच्न सिकाउँछ, प्रश्न गर्न सिकाउँछ, र आत्मपरिक्षण गराउँछ। जब शिक्षा व्यवहारिक, संवेदनशील र उद्देश्यपूर्ण बन्छ, तब मात्र मानिस साँचो अर्थमा शिक्षित हुन्छ।