Khulla Bichar Online

शिक्षा: जानकारी मात्र होइन, रूपान्तरणको यात्रा हो।

• लक्ष्मी लामा – केन्द्रीय सदस्य एअनेशिसं

शिक्षा त्यो प्रक्रिया हो जसले मानिसको चेतनामा उज्यालो ल्याउँछ, उसको दृष्टिकोणमा परिवर्तन ल्याउँछ, र जीवनप्रतिको बुझाइलाई गहिरो बनाउँछ।

हामीले शिक्षा भन्नेबित्तिकै विद्यालय, पाठ्यपुस्तक, अंक र प्रमाणपत्र सम्झन्छौं। विद्यार्थी कुन कक्षामा पढिरहेको छ? उसले कति अंक ल्यायो? कुन विषयमा “सफल” भयो?कुन बिषयमा असफल भयाे ? यिनै प्रश्नहरूले हाम्रो शिक्षाको बुझाइलाई साँघुरो बनाउँछन्। तर शिक्षा त यति सीमित हुन सक्दैन। साँचो शिक्षा ती उत्तरहरूमा होइन, ती प्रश्नहरू पछाडिको पहाड र पहाडले निर्माण गरेकाे चेतनामा लुकेको हुन्छ।

शिक्षा भन्नुको अर्थ जानकारी प्राप्त गर्नु मात्रै  होइन,रूपान्तरण गर्नु हो। शिक्षा त्यो प्रक्रिया हो जसले मानिसको चेतनामा उज्यालो ल्याउँछ, उसको दृष्टिकोणमा परिवर्तन ल्याउँछ, र जीवनप्रतिको बुझाइलाई गहिरो बनाउँछ। जानकारीले तपाईंलाई तथ्यहरू दिन सक्छ, तर चेतनाको आलोक दिन सक्दैन। जानकारीले तपाईंलाई परीक्षा पास गर्न सक्छ, तर साँचो अर्थमा  जीवन दिन सक्दैन ।

त्यसैले कार्ल मार्क्सले भनेका थिए, “हाम्रो कार्य संसारलाई बुझ्नु मात्र होइन, मुख्य कुरा त संसारलाई बदल्नु हो।” यहाँ ‘बदल्नु’ भन्ने शब्दले सामाजिक, वैचारिक र आत्मिक स्तरमा रूपान्तरणको संकेत गर्छ। शिक्षा त्यो शक्ति हो, जसले मानिसलाई सामन्य होइन, संवेदनशील जिम्मेवार नागरिक बनाउँछ।

शिक्षा भनेको प्रश्न गर्न सक्ने सामर्थ्य पनि हो ।  रटेर जवाफ दिने सीप होइन। घाेकेर लेख्ने क्षमता हाेईन । शिक्षा त्यस्तो शक्ति हो, जसले तपाईंलाई आफूप्रति इमानदार बनाउँछ । आफूलाई ढाट्ने होइन, आफूलाई बुझ्ने प्रयास गर्न बाध्य बनाउँछ। यही कारणले अल्बर्ट आइन्स्टाइनले भनेका छन्, “शिक्षा तथ्यहरू याद गर्नु होइन, सोच्न सिकाउने प्रक्रिया हो।”

जब शिक्षा केवल जानकारी र अंकमा सीमित हुन्छ, तब त्यहाँ प्रतिस्पर्धा जन्मिन्छ, जसमा कोही जित्छ र कोही हार्छ। तर जब शिक्षा रूपान्तरण बन्छ, तब त्यहाँ करुणा, सह-अस्तित्व र गहिरो समझदारी जन्मिन्छ।

पुस्तकले तपाईंलाई विज्ञान, इतिहास वा गणित त सिकाउन सक्छ, तर त्यो तपाईंलाई विनम्रता, धैर्यता, सहानुभूति र आत्मबोध दिन सक्दैन। त्यो कार्य केवल साँचो शिक्षाले गर्न सक्छ, जीवन ब्यबहारले गर्न सक्छ। जसले तपाईंको भित्री दृष्टिलाई उज्यालो बनाउँछ र उजागर गर्छ।

जसरी गौतम बुद्धले भनेका छन्, “हामीलाई हामीबाहेक अरू कसैले उद्धार गर्न सक्दैन; हामी आफैंले बाटो हिँड्नुपर्छ।” त्यसैगरी, शिक्षाको बाटो पनि आफ्नै अनुभूति र आफ्नै यात्राबाट गुज्रिन्छ।

अन्तमा:शिक्षा केवल जानकारी संकलन गर्ने माध्यम होइन, चेतनाको रूपान्तरण गर्ने यात्रा हो। यसको मूल उद्देश्य प्रमाणपत्र प्राप्त गर्नु होइन, जीवन बुझ्नु, आफूलाई चिन्नु र समाजमा सकारात्मक परिवर्तन ल्याउनु हो। साँचो शिक्षा त्यो हो, जसले सोच्न सिकाउँछ, प्रश्न गर्न सिकाउँछ, र आत्मपरिक्षण गराउँछ। जब शिक्षा व्यवहारिक, संवेदनशील र उद्देश्यपूर्ण बन्छ, तब मात्र मानिस साँचो अर्थमा शिक्षित हुन्छ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.