Khulla Bichar Online

आज बडादशैंको मुख्य दिन विजयादशमी, टीकाको उत्तम साइत ११:५३ बजे

काठमाडौं । नेपालीहरूको महान् चाड बडादशैंको मुख्य दिन आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ । विजयादशमीका अवसरमा मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद थाप्ने क्रम बिहानैदेखि सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीकाका लागि बिहान ११ बजेर ५३ मिनेटलाई उत्तम साइत निर्धारण गरेको छ ।

समितिका अनुसार टीका लगाइदिने व्यक्ति पश्चिम र टीका ग्रहण गर्ने व्यक्ति पूर्व फर्केर बस्नुपर्नेछ । घटस्थापनाका दिन वैदिक विधिपूर्वक स्थापना गरिएको घडाबाट अभिषेक गरी नवदुर्गा भवानीको प्रसादका रूपमा टीका ग्रहण गरिनेछ ।

आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा अभिवृद्धि एवं दीर्घायु प्राप्तिको आशीर्वाद लिने परम्परा छ ।

दशैंको टीका कोजाग्रत पूर्णिमासम्म लगाउन सकिने भएकाले आज टीका लगाउन नभ्याउनेहरूले पूर्णिमासम्म पनि मान्यजनबाट आशीर्वाद ग्रहण गर्न सक्नेछन्। यस अवधिमा अन्य फूलका साथै घटस्थापनाका दिन विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीक मानी टीकासँगै लगाउने गरिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य डा. बासुदेव कोइराला (वासुदेवकृष्ण शास्त्री) का अनुसार बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जनको साइत रहेको छ । यस्तै, राज्य सञ्चालकहरूका लागि भने ११ बजेर ५३ मिनेटमै टीका ग्रहण गर्नुपर्ने साइत निर्धारण गरिएको छ ।

डा. कोइराला भन्छन्, ‘विजयादशमी आफैंमा शुभ दिन हो। टीका जमरा शक्तिस्वरूपा देवी भगवतीको प्रसाद हो । त्यसैले प्रसाद ग्रहण गर्न सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यता छ । तर, राज्य सञ्चालकहरूले भने उत्तम साइतमै टीका ग्रहण गर्नुपर्ने भनेर साइत निर्धारण गरिएको हो ।’

समितिका अर्का सदस्य देवमणि भट्टराईका अनुसार दशैंको टीका लगाउनुभन्दा पहिले दुर्गा विसर्जन गर्नुपर्ने नियम छ । यद्यपि, कसैलाई टाढा जानुपर्ने वाध्यात्मक अवस्थामा भने बिहान झुल्के घाममै देवी विसर्जन गरेर टीका लगाउन पनि सकिने उनले बताए ।

कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको व्रत बसी पूजा गरेपछि दशैं पर्व समापन हुन्छ । नेपालभर दशैंलाई महान् पर्वका रूपमा मनाइन्छ भने विदेशमा रहेका नेपालीहरूले पनि एकापसमा जम्मा भई यो पर्व मनाउने गर्छन् ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.